चिनियाँ व्यापारी आकर्षित गर्न रुद्राक्षको बोट नै बिगार्न थालियो

पूर्वी पहाडी जिल्लाहरु संखुवासभा र भोजपुरमा रुद्राक्ष व्यापार सुरु हुन थालेको छ । असार अन्तिमदेखि नै रुद्राक्षको बगान नै ठेक्का लगाउने गरिन्छ । रुद्राक्षको राजधानी नै भनेर चिनिने संखुवासभाको विभिन्न भागहरु स्याबुन, वाना, धुपू, चेवाबेसी, माङतेवा र भोजपुरको दिङ्ला, नेपालेडाँडा र सोमबारे लगायतका क्षेत्रमा चहलपहल सुरु भइसकेको छ ।
तर व्यापारिक चहलपहल सुरु भएसँगै अप्राकृतिक रुद्राक्षको उत्पादन र बगानमा नै विषादी छर्किन थालेपछि किसान व्यवसायी दुवैलाई पिरोल्न थालेको छ । केही व्यापारी र किसानले राम्रो फल्ने रुद्राक्ष बगानमा अझै बहुमूल्य बनाउनका लागि कलिलो अवस्थामा नै रुद्राक्ष दानामा विषादी छर्किने र कृत्रिम क्लिप लगाउने गरेको पाइएको छ । चिनियाँ व्यापारीले चिल्लो, थेप्चे, मदाने र कण्ठे आकारका रुद्राक्षको धेरै माग गर्ने भएकाले धेरैले रुद्राक्षको आकार बिगार्न थालेका हुन् ।