विश्वकपमा पुग्न वेस्टइन्डिजलाई नेपालसँगको फराकिलो जित काम नलाग्ने
आइसिसी विश्वकप छनोटमा वेस्टइन्डिजलाई विश्वकपमा पुग्न नेपालसँगको फराकिलो जित काम नलाग्ने भएको छ । नेपाल सुपर सिक्समा स्थान बनाउन नसकेपछि उक्त जित विश्वकपमा पुग्न वेस्टइन्डिजलाई काम नलाग्ने भएको छ ।
समूह ए बाट वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । सुपर सिक्समा आफ्नो समूहबाट जाने टोलीबीचको नतिजामात्रै गणना गरिन्छ । त्यसैले वेस्टइन्डिजले सुपर सिक्समा नेपालमाथिको जितको अंक पाउने छैन । सुपर सिक्समा जिम्बावेले ४ अंक पाउनेछ । उसले वेस्टइन्डिज र नेदरल्यान्ड्स दुबैलाई हराएको छ ।
सोमबार वेस्टइन्डिज र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेता टोलीले २ अंक र पराजित हुने टोली अंक विहीन हुँदै सुपर सिक्समा पुग्नेछ । समूह बी बाट ओमान, स्कटल्यान्ड र श्रीलंका आउने उच्च सम्भावनाछ । सुपर सिक्समा समूह बीबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । जसमा शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।
यदि कुनै दुई टोलीबीचको अंक समान भएमा खेलमा सर्वाधिक धेरै जित हेरिन्छ । सर्वाधिक जित सुपर सिक्समा आउने टोलीबीचको मात्रै हुनेछ । उदाहरणलाई सर्वाधिक जित हेर्दा वेस्टइन्डिजलाई नेपाल र अमेरिकाविरुद्धको जित कुनै काम लाग्ने छैन । जिम्बावेलाई वेस्टइन्डिज र नेदरल्यान्ड्समाथिको जित काम लाग्नेछ ।
सुपर सिक्समा आएका टोलीको मात्रै जित हेरिनेछ । त्यो पनि बराबर भएमा सुपर सिक्समा आएका टोलीबीचको समूह चरणको नेटरनरेट पनि हेरिनेछ । जसमा वेस्टइन्डिजलाई नेपालसँग १ सय १ रनको फराकिलो जितको कुनै अर्थ हुनेछैन । समूह एबाट जिम्बावे, वेस्टइन्डिज र नेदरल्यान्ड्सबीचको नतिजाको नेटरनरेट मात्रै हेरिनेछ ।
यदि सुपर सिक्समा पुगेका टोलीबीचको नेटरनरेट पनि बराबर भएमा हेड टु हेड हेरिनेछ । सुपर सिक्समा आएका टोलीबीचको खेलमा विजेता टोली विश्वकपमा पुग्नेछ । नेपाल समूह चरणबाटै बाहिरिएको हुँदा उसको कुनैपनि नतिजा विश्वकपमा पुग्न वेस्टइन्डिजलाई काम नलाग्ने भएको हो ।
वेस्टइन्डिज विश्वकपमा पुग्न सुपर सिक्सका सबै खेल जित्नुपर्ने दबाब बढेको छ । जिम्बावेसँग ३५ रनले पराजित भएपछि केहि कठिन बनेको छ । यदि सुपर सिक्समा तीन मध्य एक खेलमा पराजित भएमा भने वेस्टइन्डिजको विश्वकप सपना धेरै कठिन बन्नेछ । उता जिम्बावेलाई विश्वकप खेल्न सुपर सिक्समा दुई जित पर्याप्त बन्नसक्ने देखिएको छ । समूह बी बाट श्रीलंका ४ अंकका साथ आउने उच्च सम्भावनाछ ।







