प्रधानमन्त्री मोदीविरुद्ध मोर्चाबन्दी गर्न खोज्दा मुख्यमन्त्री केजरीवाललाई धक्का !

जनपत्र
८ असार २०८०, शुक्रबार ०७:३२

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सामना गर्न विपक्षी दलहरू एकजुट हुने प्रयासमा लागेका छन् । आगामी वर्ष २०२४ मा भारतमा लोकसभा चुनाव हुँदैछ ।

विपक्षी दललाई एकजुट गराउने प्रयासमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल समेत लागेका थिए तर उनलाई धक्का लागेको छ । केजरीवालले शुक्रवार हुने विपक्षी दलको बैठकमा मोदी सरकारले ल्याएको अध्यादेशबारे पनि छलफल र विरोध हुनुपर्ने माग राखे पनि अन्य दलले विपक्षी दलको बैठक आगामी चुनावकेन्द्रित मात्रै हुने बताएका छन् ।

केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले राज्यसभामा मोदी सरकारले ल्याएको अध्यादेशको विरोधमा विपक्षी दल एकजुट हुनुपर्ने माग राखेका छन् । तर भारतीय कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सांसद संदीप दीक्षितले विपक्षी दलको बैठकमा चुनावबारे मात्रै कुराकानी हुने बताए ।

उनले भने, ‘यो बैठक देशका थुप्रै राजनीतिक पार्टीको बैठक हो, जसलाई देशको चिन्ता छ, नकि सौदाबाजी गर्नेको बैठक ।’ उनले आपलाई सौदाबाजी गरेको आरोप लगाए । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) सांसद मनोज तिवारीले ‘अब आया ऊँट पहाड के निचे’ भनेर केजरीवालमाथि व्यंग्य गरेका छन् ।

अध्यादेशको विरोधमा समर्थन नजुट्ने देखेपछि आपले विपक्षी दलको बैठक बहिष्कार गर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोदी सरकारले केन्द्र शासित दिल्ली प्रदेशका अधिकार संकुचित गर्ने गरी ल्याएको अध्यादेशको मुख्यमन्त्री केजरीवालले विरोध गर्दै आएका छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*