धरौटी बुझाएर छुटेका विप्लव नेकपाका कार्यकर्ता पुनः पक्राउ

कैलालीमा १० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीले फेरि पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा धरौटी रकम बुझाएर रिहा भएका टीकापुर नगरपालिका-१ का ३३ वर्षीय पूर्णबहादुर खड्कालाई प्रहरीले प्रशासन परिसरबाटै पुनः पक्राउ गरेको हो।
खड्कालाई यसअघि प्रहरीले गत बैसाख १३ गते टीकापुरबाट पक्राउ गरेको थियो। खड्काविरुद्ध राजद्रोह र सार्वजनिक अपराध गरेको अभियोगमा प्रहरीले मुद्दा चलाएको थियो।
कैलाली प्रहरीले भने खड्कालाई पक्राउ गरिएको विषयमा आधिकारिक धारणा दिएको छैन। कैलाली प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले खड्का पुनः पक्राउ परेको विषयमा आफूलाई जानकारी नै नभएको बताए।