भारतले सन् २०२४ को मध्यसम्म चिनी निर्यात रोक्ने

जनपत्र
३० जेष्ठ २०८०, मंगलवार १०:५४

भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध सन् २०२४ को मध्यसम्म थप गर्ने भएको छ । चालु सिजनमा निर्यातका लागि ६१ लाख टन कोटा निर्धारण गरेकोमा कोटा सकिएपछि अहिले निर्यात रोकिएको छ ।

यस वर्ष देखिएको एल निनो मौसमी प्रणालीका कारण खडेरी पर्ने सम्भावना रहेकोले चिनी निर्यात खुलाउने अवस्था नरहेको भारतीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । भारतले यस वर्ष निर्यात कोटा पनि घटाएर ४० लाख टनमा झार्ने तयारी गरेको छ ।

भारतले एल निनो मौसमको प्रभावका कारण बितेको सात दशककै खराब खडेरीको सामना गर्नुपर्ने अनुमान गरेको छ । खडेरीका कारण उखु उत्पादन घट्ने भारतको अनुमान छ । विश्वकै दोस्रो ठूलो चिनी निर्यात गर्ने देश भारतले अक्टोबर १ मा नयाँ मार्केटिङ वर्ष सुरु हुनु अघि नै कति निर्यात गर्न सकिन्छ भनेर निर्णय गर्छ ।

भारतले निर्यात नगर्दा चिनीको विश्वव्यापी मूल्यमा असर गर्नेछ । भारतले चालु चिनी सिजनको सुरुमा आउँदो सेप्टेम्बर ३० सम्म तीन करोड ६० लाख टन चिनी उत्पादन गर्न लक्ष्य लिएकोमा उखु उत्पादन घटे पनि त्यसलाई शंसोधन गरेर तीन करोड २८ लाख टनमा झारेको छ ।

सन् २०२१–२२ मा भारतले एक करोड १० लाख टन चिनी निर्यात गरेको थियो । त्यसपछि उत्पादन घटेको भन्दै निश्चित कोटा निर्धारण गरेर निर्यातमा प्रतिबन्ध लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*