वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलः अस्ट्रेलियाविरुद्ध भारतको फितलो प्रदर्शन

जनपत्र
२६ जेष्ठ २०८०, शुक्रबार ०७:०७

वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनल खेलमा अस्ट्रेलिया तथा भारतबीचको खेल जारी छ । फाइनल खेलको दोस्रो दिन बिहिबार जब अस्ट्रेलियाको ४६९ रनको जवाफमा भारत ब्याटिङ गर्न उत्रियो, लगातार विकेटहरु पतन भएपछि भारत नराम्रो स्थितिमा पुगेको छ ।

दोस्रो दिनको खेल समाप्त हुँदा भारतले ५ विकेटको क्षतीमा १५१ रनमात्र जोडेको छ । योसंगै भारत अस्ट्रेलियाभन्दा अझे ३ सय १८ रन पछाडि छ ।

बिहिबार ब्याटिङ गर्न मैदानमा उत्रिएका भारतका रोहित शर्मा तथा शुभमन गिल पिचमा सहज देखिएका थिए, तर प्राविधिक कमजोरीका कारण दुबैले आफ्नो विकेट गुमाए ।

चौकामार्फत आफ्नो खाता खोल्ने रोहित २६ बलमा १५ रन बनाउँदै पाट कमिन्सको बलमा एलबिडब्ल्यू आउट भए । अस्ट्रेलियाका स्कट बोल्याण्डले दुई बलपछि गिललाई बोल्ड आउट गरिदिए । गिलले अफ स्टम्पभन्दा बाहिर गैरहेको बललाई छोड्न चाहे, तर उक्त बल भित्रतर्फ स्विङ हुँदै विकेटमा लाग्न पुग्यो ।

बिहिबारको दोस्रो शत्र समाप्त हुँदा विराट कोहली चार रन तथा चेतेश्वर पुजारा तीन रन बनँएर क्रीजमा थिए । तर, चियापछि पनि विकेट झर्ने क्रम रोकिएन । १४ रनको निजी स्कोरमा क्याम्रुन ग्रीनले चेतेश्वर पुजारालाई गिलकै शैलीमा बोल्ड आउट गरे ।

अस्ट्रेलियालाई बिहिबार सबैभन्दा ठूलो विकेटर मिचेल स्टार्कले दिलाए । विराट कोहली एउटा तिब्र गतिको बाउन्सरमा बाहिरी किनारा दिँदै स्टीभ स्मिथलाई क्याच दिन पुगे । विराट कोहलीले पनि १४ रन मात्र बनाए ।

नाजुक अवस्थामा अजिंक्य रहाणे तथा रविन्द्र जडेजाले भारतीय इनिङ सम्हाल्दै स्कोरलाई १४० रनसम्म पुर्याए । दुबैका बीच ५० रनभन्दा बढीको साझेदारी भयो । तर, दोस्रो दिनको खेल सकिनुभन्दा केहीअघि मात्र नाथन लायनले जडेजालाई ४९ रनमा आउट गर्दै अस्ट्रेलियालाई ठूलो राहत दिलाए ।

यतिबेला क्रीजमा २९ रन बनाएर अजिंक्य रहाणे तथा ५ रन बनाएर केएस भरत खेलिरहेका छन् । भारतले फलोअनबाट बच्नका लागि २६९ रन बनाउनु पर्नेछ ।

त्यसअघि अस्ट्रेलियाका ट्राभिस हेडले १६३ तथा स्टिभ स्मिथले १२१ रन बनाएपछि अस्टे«लियाले पहिला ब्याटिङ गर्दै भारतविरुद्ध ४६९ रन बनाउन सफल भएको थियो ।

भारतका मोहम्मद सिराजले चार विकेट लिए भने मोहम्दम सामी तथा शार्दुल ठाकुरले समान दुई तथा रविन्द्र जडेजाले एक विकेट लिए ।
यो खेलमा भारतले टस जित्दै पहिला बलिङ गर्ने निर्णय गरेको हो ।

आज शुक्रवार तेस्रो दिनको खेल प्रारम्भ हुँदा भारतले आफूलाई फलोअनबाट जोगाउनका लागि संघर्ष गर्नु पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*