हेटौंडामा जेठ १६ गते देखि खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुदैं
हेटौंडा । हेटौंडामा जेठ १६ गते देखि खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडा र मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको हो । आज पत्रकार सम्मेलन गर्दै यसका बारेमा जानकारी दिइएको हो । १६ गते देखि सुरु हुने प्रतियोगिता २० गते सम्म हेटौंडामा हुने छ ।
प्रतियोगितामा विजेताले दुई लाख नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छन् भने उपविजेताले एक लाख नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले बताए । प्रतियोगिताको सेमी फाइनलमा पुग्ने दुई टिमलाई नगद ५० हजार सान्त्वना पुरस्कार प्रदान गर्ने जनाइएको छ । खेलको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई हेटौंडा उपमहानगरपालिका, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश, हेटौंडा १९ र ३ नम्बर वडा कार्यालय सहयोगीको रुपमा रहने आयोजकले जनाएको छ । यस वर्ष पुरुष तर्फको राष्ट्रिय खेल भएता पनि आगामी वर्षदेखी महिलाहरुको पनि प्रतियोगिता गरिने मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त सिटौलाले बताए ।
प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, मकवानपुर जिल्ला भलिबल संघ, बागमती प्रदेश भलिबल टिम, मधेश प्रदेश भलिबल टिम, मणिमुकुन्द भलिबल टिम, गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम स्याङ्जा र पाथिभरा भलिबल टिम झापाको प्रतिस्पर्धा रहने सिटौलाले बताए ।







