शुभमन गिलको कीर्तिमानी ब्याटिङमा मुम्बईको हार, आईपीएलको फाइनलमा चेन्नईसंग गुजरातको भेट पक्का

जनपत्र
१३ जेष्ठ २०८०, शनिबार ०६:२१

गुजरात टाइटन्सले आईपीएल २०२३ को फाइनलमा स्थान सुरक्षित गरेको छ । शुक्रवार राति अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिएको क्वालिफायर–२ प्रतिस्पर्धामा गुजरातले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गरेको हो ।

यो प्रतिस्पर्धामा मुम्बईले जीतका लागि २३४ रनको विशाल पाएको थियो, तर यो टीम १८.२ ओभरमा १७१ रनमै समेटियो ।

मुम्बई इन्डियन्सको ब्याटिङको कुरा गर्ने हो भने सूर्यकुमार यादवले मात्र उत्कृष्ट खेले । उनले ३८ बलमा ६१ रन बनाए । यद्यपि, गिलको अगाडि सूर्यकुमारको यो इनिङ फिका सावित भयो । सूर्यकुमार बाहेक तिलक वर्माले १४ बलमा ४३ रनको योगदान दिए भने क्याम्रुन ग्रीनले ३० रन बनाए । उनीहरुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

गुजरात टाइटन्सको तर्फबाट तिब्र गतिका बलर मोहित शर्माले २.२ ओभरमा १० रन दिएर पाँच विकेट लिए भने मोहम्मद शमी तथा राशिद खानले समान दुई विकेट लिए ।

वर्षाका कारण आधा घण्टा ढिलो प्रारम्भ भएको यो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले ६.२ ओभरमै ५४ रन बनाएको थियो । विकेटकीपर ऋद्धिमान साहा तथा शुभमन गिलको ओपनिङ जोडीले उत्कृष्ट सुरुवात दिलाएको हो । साहा १८ रन बनाएर आउट भएपछि गिल र साई सुदर्शनले इनिङलाई अघि बढाए । त्यसक्रममा गिलले आफ्नो उत्कृष्ट फर्मलाई जारी राख्दै ३२ बलमै अर्धशतक पूरा गरे ।

अर्धशतक पूरा गरेपछि गिलले छक्काको वर्षा गराउन थाले । गिलले आकाश मधवालको एउटा ओभरमा तीन छक्का प्रहार गरे भने १३ औं ओभरमा पीयुष चावलाको बलमा पनि दुई छक्का र एक चौका प्रहार गरे । गिलले क्याम्रुन ग्रीनको बलमा एक रन लिएर आफ्नो शतक पुरा गरे । उनले ४९ बलमा शतक बनाए, जसमा आठ छक्का तथा चार चौका समावेश छन् ।

जारी आईपीएलमा शुभमन गिलको यो तेस्रो शतक हो । यसअघि उनले सनराइजर्स हैदराबाद तथा रोयल च्यालेञ्जर्स बेंग्लोरविरुद्ध शतकीय इनिङ खेलेका थिए ।

शुभमन गिलले कुल मिलाएर ६० बलमा १२९ रन बनाए, जसमा सात चौका तथा दश छक्का समावेश छन् । गिललाई आकाश मधवालले टिम डेविडको हातबाट क्याच आउट गराए । गिल र साई सुदर्शनबीच दोस्रो विकेटका लागि १३८ रनको साझेदारी भयो ।

गिल यो अविष्मरणीय इनिङका कारण आईपीएलको प्लेअफमा सबैभन्दा ठूलो स्कोर बनाउने खेलाडी समेत बने । गिलले पञ्जाब किङ्सका वीरेन्द्र सहवागलाई पछि पारे, जसले चेन्नईविरुद्ध १२२ रन बनाएका थिए ।

शुभमन गिली आईपीएलको प्लेअफमा शतक बनाउने कुल मिलाएर सातौं तथा सबैभन्दा युवा खेलाडी हुन् । गिलले २३ वर्ष २६० दिनको उमेरमा आईपीएलको प्लेअफमा शतक बनाए । गिलले आईपीएल प्लेअफमा सबैभन्दा तिब्र गतिमा शतक बनाउने रजत पाटीदार तथा ऋद्धिमान साहाको बराबरी समेत गरे । साहा र पाटीदारले पनि ४९–४९ बलमा शतक बनाएका थिए ।

गिल आउट भएपछि कप्तान हार्दिक पाण्ड्या तथा साई सुदर्शनले २२ रनको साझेदारी गर्दै गुजरातलाई दुई सय रनको स्कोरसम्म पुर्याए । सुदर्शनले ३१ बलमा ४३ रन बनाएर रिटायर्ड आउट भए । हार्दिक पाण्ड्याले १३ बलमा २८ रन बनाए ।

अन्ततः गुजरातले २० ओभरमा २३३ रन बनायो, जुन आईपीएलको प्लेअफमा कुनै पनि टीमको सबैभन्दा उच्च स्कोर हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*