प्रदेश ३ लाई विषादीमुक्त बनाउने लक्ष्य : पाँच जिल्लामा प्रयोगशाला स्थापना गरिँदै

जनपत्र
२१ श्रावण २०७६, मंगलवार १३:५०

हेटौंडा । प्रदेश ३ सरकारले चितवनसहित तरकारी सङ्‍कलन हुने ५ जिल्लामा विषादी मापन प्रयोगशाला स्थापना गर्ने भएको छ। प्रदेशलाई विषादीमुक्त बनाउने लक्ष्यसहित प्रयोशाला स्थापना गर्न लागिएको हो।

प्रदेश ३ को भूमि, कृषि तथा सहकारी मन्त्रालयले चितवनमा खाद्यवस्तुमा विषादीको मात्रा परीक्षण गर्ने प्रयोगशाला स्थापनाको काम सुरू गरिसकेको छ। कृषि ज्ञान केन्द्र चितवन प्रयोशाला स्थापनाका लागि उपकरणसमेत भित्र्याइसकेको छ।

त्यसैगरी मकवानपुर, नुवाकोट, काभ्रेपलान्चोक र ललितपुरमा पनि विषादी मापन प्रयोगशाला स्थापना गर्ने तयारी गरेको छ। कृषिमन्त्रीस्तरको निर्णयबाट प्रदेश ३ लाई विषादीमुक्त प्रदेश बनाउने नीति ल्याउन लागिएको मन्त्रालयले जनाएको छ।

चितवनस्थित कृषि ज्ञान केन्द्रका प्रमुख सुधीर श्रेष्ठले विषादी मापन प्रयोगशाला स्थापनार्थ उपकरण ल्याइसकिएको जानकारी दिए। प्रदेश ३ को कृषि मन्त्रालयको सहयोगमा उपकरण ल्याइएको उनले बताए।

प्रयोगशाला स्थापनासँगै चितवनका किसानले उत्पादन गर्ने तथा आयात गरिने तरकारी, फलफूललगायत खाद्यवस्तुमा विषादीको मात्रा परीक्षण सुरू गरिने श्रेष्ठले जानकारी दिए।

प्रयोगशाला स्थापनाका लागि प्रदेश सरकारले ३५ लाख रूपैयाँ उपलब्ध गराएको छ। विषादी मापन परीक्षणका लागि प्रयोगशालामा जनशक्ति व्यवस्थापन गर्न प्रदेश सरकारले कृषि ज्ञान केन्द्रका तीन जना प्राविधिकलाई तालिम दिइरहेको छ।

केन्द्रमा भित्र्याइएको उपकरणले खाद्यवस्तुमा भएका कार्वोमेट र अग्र्यानोफोस्फेट नामक दुई समूहका विषादीको अवस्था पत्ता लगाउन सकिने प्रदेश कृषि मन्त्रालयका प्रवक्ता निर्मल गदालले बताए। विषादीका धेरै समूहमध्ये अधिकतम प्रयोग हुने अग्र्यानोफोस्फेट समूहका हुन्। यद्यपि, यो उपकरण र प्रयोगशालाबाट कति प्रतिशत कुन विषादी रहेको छ भन्ने जानकारी भने प्राप्त गर्न सकिँदैन।

जनस्वास्थ्यलाई ध्यानमा राखेर प्रदेश सरकारले छोटो बाटोबाट प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको सरकारको भनाइ छ। प्रदेश सरकारले कार्यविधि बनाएर प्रदेशमा विषादी नियन्त्रण गर्न लागेको हो। नेपाल न्युजबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*