एलन मस्कले ट्वीटरको सीईओ फेला परेको ट्वीट गर्दा टेस्लाको शेयर बढ्यो
ट्वीटरका मालिक एलन मस्कले अर्को महिना ट्वीटरमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) आउने घोषणा गरेलगत्तै उनको अर्को कम्पनी टेस्लाको शेयर बढेको छ ।
मस्कले बिहीबार राति एक ट्वीट गर्दै अबको छ हप्तामा ट्वीटरले नयाँ सीईओ पाउने बताएपछि टेस्लाको शेयर बढेको हो । मस्कले गत अक्टोबरमा ४४ अर्ब डलर खर्च गर्दै ट्वीटरको सम्पूर्ण शेयर खरिद गरेका थिए ।
ट्वीटरको शेयर खरिद गरेसँगै टेस्लाको शेयर निरन्तर ओरालो लागिरहेको थियो । अन्तिम पटक ४ नोभेम्बर २०२१ मा टेस्लाको शेयर इतिहासको सबैभन्दा बढी अर्थात् प्रति शेयर मूल्य ४०९.९७ अमेरिकी डलर पुगेको थियो । त्यही समयदेखि अहिलेसम्म कम्पनीको शेयर ५० प्रतिशतभन्दा बढीले घटिसकेको छ ।
विभिन्न कम्पनीको शेयर मूल्यको सूचना दिने प्लेटफर्म इन्भेस्टरका अनुसार १२ मे २०२३ मा टेस्लाको प्रति शेयर मूल्य २.१ प्रतिशतले बढेर १७२.०८ डलर पुगेको छ । यससँगै मस्कको सम्पत्ति २.३ अर्ब डलरले बढेर १७९.५ अर्ब अमेरिकी डलर पुगेको फोर्ब्स म्यागेजिनले उल्लेख गरेको छ ।
इन्भेस्टरका अनुसार मस्कले ट्वीटरका लागि नयाँ सीईओ फेला पारेको खबर सार्वजनिक गरेसँगै टेस्लाको शेयर बढेको हो ।







