किन मनाइन्छ नागपञ्चमी ?

जनपत्र
२० श्रावण २०७६, सोमबार ०७:३६

हिन्दु धर्म र संस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआराधना गरिन्छ ।

यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ । नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने विधान छ । त्यस्तै नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको ढोकामा टाँस्ने गरिन्छ । यसले गर्दा घरमा चट्याङ नलाग्ने, आगो तथा सर्पको भय नहुने धार्मिक विश्वास रहिआएको छ । श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भएर हिउँद सुरु भएको मानिन्छ ।

ज्योतिष शास्त्रीय मान्यताअनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन । कुनै पनि घर तथा बंगला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए आजकै दिनमा बिधिवत् पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ । यो धार्मिक विधी विधान कुनै आडम्बर होइन । अन्धविश्वास होइन । यसको आफ्नै वैज्ञानिक महत्व पनि छ । प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने त वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको कुरा हो । पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगका लागि औषधि बन्ने वैज्ञानिक तथ्य पनि छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*