जनताको समस्या बुझन सांसद खतिवडाको टोली हाँडिखोलामा

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडानम्बर ४ हाँडिखोला मसीने क्षेत्रमा स्थानीय नागरिकका समस्या बुझ्न जनप्रतिनिधिको टोली पुगेको छ । स्थानीयका समस्याहरु गाउँटोलमा गएर बुझ्दै मसिनेमा सञ्चालन भएका बिकास निर्माण, बाढी, पहिरोले पुगेको क्षती बुझ्नका लागि मकवानपुर क्षेत्रनम्बर २ का सांसद बिरोध खतिवडा सहितको टोली गाउँ पुगेको हो ।
यसअघि सांसद खतिवडाले मकवानपुरको थाहा नगरपालिका, मकवानपुर गढी गाउँपालिका, भिमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका लगायतका क्षेत्रमा अहिलको अवस्थामा नागरीकका लागि परेका समस्या बुझ्दै आज मनहरीको मसिनेमा पुगेको हो । संसद्मा कानून निर्माण गर्ने, स्थानीयका समस्या संसदमा राख्ने काम संगै स्थानीयका सबै खालका समस्या बुझ्नका लागि हाँडीखोला पुगेको खतिवडाले बताउनुभयो । उहाँसंगै संविधानसभा सदस्य राजाराम स्याङ्तान, प्रदेशसभाका सदस्य ओम घलान, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ठ लगायतकाको टोली आज बिहान मसिने पुगेको हो ।
सांसद सहितको टोलीलाई स्थानीय वासीन्दाहरुले बाढी, पहिरोका कारण परेका समस्या, अब गर्नुपर्ने काम, बिकासको गति अगाडी बढाउन स्थानीय क्षेत्रमा सडक, पानी, बिद्यालयका समस्याका बारेमा जानकारी गराएको मनहरी गाउँपालिकाका अध्यक्ष उप्रेतीले बताउनुभयो । बडीजसो बाढीका कारण परेका समस्याहरु स्थानीयले जनप्रतिनिधि समक्ष राखेको उहाँले बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य तथा मकवापनुर इन्चार्ज समेत रहनुभएका खतिवडाले राप्ती तटबन्धबाट ३५ लाखको बाँध निर्माणको अबलोकन, बाढी पहिरोको क्षतिभएको क्षेत्रको अबलोकन, यसक्षत्रमा निर्माण भएको सडक निर्माण लगायतका क्षत्रमा अवलोकन गर्नुभएको हो ।
अन्तरक्रियाका क्रममा रजैया पुलबाट लामिटार हुँदै चकरी मकरी पुग्ने सडकको बीचमा पर्ने ट्वाङग्रा खोलामा पक्की पुल आवश्यक रहेको स्थानीय युवा सन्जीव पाठकले बताएका थिए । त्यसलगत्तै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले वडाध्यक्षले ५० लाख रुपियाँ सोही पुलको लागि बिनियोजन गर्ने सिफारिस ल्याएमा गाउँपालिकाले थप ५० लाख रुपियाँ थपेर १ करोड रुपियाँको पुल बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसअघि वडाको तर्फबाट २० लाख रुपियाँ बिनियोजन गरिएको जानकारी गराइएको थियो । कार्यक्रममा सांसद खतिवडाले मनहरी गाउँपालिकाको मेरुदण्डको रुपमा रजैया हुँदै चकरी मकरी पुग्ने बाटो रहेकाले त्यसलाई मजबुत र व्यवस्थित बनाउनका लागि आफूले केन्द्रमा पहल गरी केन्द्रीय योजनामा हाल्न सफल भएको जानकारी दिए । पुल पुलेसाहरुको सन्दर्भमा प्रदेश तथा स्थानीय सरकारले नसकेको कामहरु संघीय सरकारलाई सिफारिस गर्न सांसद खतिवडाले आग्रह गर्नुभयो ।