भारतमा लाइभ अन्तर्वार्ता चल्दै गर्दा प्रहरी घेरामा रहेका पूर्व सांसद र उनका भाइको हत्या
भारतमा अपहरणमा दोषी ठहर गरिएका एक जना पूर्व राजनीतिज्ञलाई उनका भाईसँगै टेलिभिजनमा प्रत्यक्ष कुराकानी गरिरहेको बेलामा हत्या गरिएको छ।
अतिक अहमद र उनका भाइले पत्रकारहरूसँग सुरक्षा घेरामा कुरा गरिरहँदा एक जना बन्दुकधारीले अलाहवाद पनि भनिने प्रयागराजमा उनको टाउकोमा गोली हानेका हुन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार हमलाकारी पत्रकारको भेषमा थिए। उक्त हत्यापछि तीन जनालाई नियन्त्रणमा लिइएको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका सुरक्षा निकायलाई ‘उच्च सतर्कता’मा राखेका छन्।
विपक्षी नेताहरूले सुरक्षामा भएको उक्त लापरबाहीले कानुनी शासनमाथि प्रश्न खडा गरेको टिप्पणी गरिरहेका छन्।
को हुन अतिफ अहमद
अपहरणमा दोषी ठहर गरिएका अतिक अहमदमाथि हत्या र आक्रमणहरू गरेका अभियोग छ। उनले नौ वर्षअघि सांसद पदबाट राजीनामा दिएका थिए।
अहमदका छोरालाई केही दिनअघि प्रहरीले गोली हानी हत्या गरिदिएका थिए।
भिडिओमा अहमद र उनका भाइ असरफले हतकडी लगाएको र उक्त घटना हुनु केही सेकेन्डअघि पत्रकारहरूसँग बोलिरहेको देख्न सकिन्छ।
स्वास्थ्य जाँचका लागि अस्पतालमा लगिएको समयमा पत्रकारहरूसँग कुरा गरिरहँदा उनीहरूमाथि गोली प्रहार गरिएको थियो।
सामाजिक सञ्जाल र टेलिभिजन च्यानलहरूमा व्यापक रूपमा साझा भइरहेको फुटेजमा अहमदलाई छोराको अन्तिम संस्कारमा सहभागी भए या नभएकोबारे सोधिएको छ।
भारतले नेपालमा लुकेको शङ्का गरेका यी खालिस्तानी नेता को हुन्
भारतीय यूट्यूबरद्वारा प्रहरीसमक्ष आत्मसमर्पण, नेपाली कामदारलाई उनको भिडिओले कस्तो प्रभाव पारेको थियोरु
क्यामेरामा उनले बोलेका अन्तिम शब्दहरू थिए, “उनीहरूले हामीलाई लगेनन् त्यही भएर हामी गएनौँ।”
पत्रकारको भेषमा आएका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ
पत्रकारको भेषमा आएका भनिएका तीन सन्दिग्ध हमलाकारीहरू घटनास्थलमा मोटरसाइकल चढेर पुगेको प्रहरीले जनाएको छ। घटनास्थलमा अर्का एक पत्रकार र एक जना प्रहरी घाइते भएका छन्।
शनिवार रातिको उक्त घटनापछि मूख्यमन्त्री योगी आदित्यनाथले न्यायिक छानबिनको आदेश दिँदै उत्तर प्रदेशका जिल्लाहरूमा ठूला भीडहरूमाथि प्रतिबन्ध लगाएका छन्।







