रूसमा पुरुषलाई देश छोड्न प्रतिबन्ध लगाउने विवादास्पद विधेयक पारित
रूसको संसदको माथिल्लो सदनले युक्रेनमा मस्कोको आक्रमणका बीच पुरुषहरूलाई देश छोड्न प्रतिबन्ध लगाउने ‘डिजिटल ड्राफ्ट प्रणाली’ बनाउने विवादास्पद विधेयकलाई बुधबार अनुमोदन गरेको छ ।
संसदको तल्लो सदन, स्टेट डुमाले मङ्गलबार दोस्रो र तेस्रो पटक विधेयक पारित गरेपछि सिनेटरहरूले विधेयकको समर्थन गरेका हुन् ।
राष्ट्रपति भ्लादिमिर पुटिनले यस विधेयकमा हस्ताक्षर गरेपछि यो कानुनमा परिणत हुनेछ ।
क्रेमलिनका आलोचकहरूले यो विधेयकले युक्रेनमा युद्ध गर्न पुरुषहरूलाई परिचालन गर्न र युक्रेनमा रूसको आक्रमण दोस्रो वर्ष लम्बिँदै जाँदा देशबाट देशबाट पलायन हुन खोज्नेलाई कडा कारबाही गर्न ठूलो सहयोग पुग्ने बताएका छन् ।
क्रेमलिनले अर्को अभियानको योजना नबनाएको र जुन गतिमा यो विधेयक पारित भइरहेको छ, त्यसमा कुनै असामान्य कुरा नभएको बताएको छ ।
संसदको माथिल्लो सदनमा बुधबार एक जना सिनेटरले मात्र विधेयकको विपक्षमा मतदान गरेका थिए भने पक्षमा १६३ मत परेको थियो ।
प्रस्तावित परिवर्तनहरू अन्तर्गत, ड्राफ्टरलाई रूस छोड्न प्रतिबन्धित गरिनेछ र ‘इलेक्ट्रोनिक कल–अप’ कागजातहरू प्राप्त भएपछि सूचीकरण कार्यालयमा रिपोर्ट गर्नुपर्नेछ । एएफपी






