आइएमएफ प्रमुखको चेतावनी– यस्तै हाे भने यसै वर्ष विश्वको आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा तल झर्छ

जनपत्र
२४ चैत्र २०७९, शुक्रबार ०७:३८

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का प्रमुख (प्रबन्ध निर्देशक) क्रिस्टालिना जर्जिएभाले विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा जारी मन्दीका कारण यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने चेतावनी दिएकी छिन् ।

‘बढ्दो भूराजनीतिक तनाव र अझै पनि उच्च मुद्रास्फीतिको साथ एक मजबूत सुधार असम्भव छ,’ जर्जिएभाले अर्को हप्ता आइएमएफ र विश्व बैंकको वसन्त बैठकअघि तयार पारेको रिपोर्टबारे जानकारी दिँदै भनिन्, ‘विशेषगरी सबैभन्दा कमजोर व्यक्ति र देशहरूका लागि आर्थिक वृद्धिको यो तथ्याङ्कले सबैको सम्भावनालाई हानि पुर्याउँछ ।’

रुसले युक्रेनमाथि गरेको आक्रमणको असरले विश्व अर्थतन्त्रमा तरङ्ग ल्याउँदा गत वर्ष विश्वको आर्थिक वृद्धिदर झण्डै आधा घटेर ३.४ प्रतिशतमा झरेको थियो ।

एसियाका उदीयमान बजारहरूले आर्थिक उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । भारत र चीनले यस वर्षको सबै वृद्धिको आधा हिस्सा ओगट्ने अनुमान गरेका छन् । तर विश्वका ९० प्रतिशत विकसित अर्थव्यवस्थाहरूको लागि अपेक्षित मन्दीले आर्थिक वृद्धिको सुखद् खबरलाई पछि पार्ने देखिएको छ ।

‘निकट र मध्यावधि दुवैमा ऐतिहासिक तुलनाका आधारमा आर्थिक वृद्धि दर कमजोर रहेको छ,’ उनले भनिन् ।

उनले आगामी आधा दशकमा विश्वको आर्थिक वृद्धिदर करिब तीन प्रतिशत रहने र यो सन् १९९० को दशकयताकै सबैभन्दा कम मध्यम अवधिको प्रक्षेपण भएको बताइन् ।

‘कम आय भएका देशहरूले उच्च ऋण लागत र उनीहरूको निर्यातको मागमा आएको गिरावटका कारण दोहोरो झट्का भोग्ने अपेक्षा गरिएको छ, जसले गरिबी र भोकमरी बढाउन सक्छ,’ जर्जिएभाले भनिन्, ‘कम आय भएका करिब १५ प्रतिशत मुलुक पहिलेदेखि नै ऋण सङ्कटमा छन् र अन्य ४५ प्रतिशतले उच्च ऋण जोखिमको सामना गरिरहेका छन् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*