लखनउविरुद्ध चेन्नईको रोमाञ्चक जित, मोइन अलीको सानदार बलिङ
भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई १२ रनले हराउँदै चेन्नईले पहिलो जित निकालेको हो ।
ऊ पहिलो खेलमा गुजराज टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो । दिल्लीलाई ५० रनले हराउँदै विजयी सुरुवात गरेको लखनउले दोस्रो खेलमा भने हार बेहोर्यो ।
चेन्नईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ५ रन बनायो । उसका लागि ओपनर कायल मेयर्सले आक्रामक पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले २२ बलमा ८ चौका र २ छक्कासहित ५३ रन बनाए । जारी सिजनमा मेयर्सको यो लगातार दोस्रो अर्धशतकीय पारी हो ।
त्यस्तै, निकोलस पूरनले ३२, आयुष बदोनीले २३, मार्कस स्टोइनिसले २१ र कप्तान केएल राहुलले २० रन जोडे । कृष्णप्पा गौतम १७ र मार्क वुड १० रनमा अविजित रहे । चेन्नईका लागिम मोइन अलीले ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए । तुषार देशपाण्डेले दुई र मिचेल सान्टनरले एक विकेट हात पारे ।
त्यसअघि चेपकस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनायो ।
उसका लागि ओपनर ऋतुराज गायकवाडले अर्धशतकीय पारी खेले । ३१ बलको सामना गरेका उनले ४ छक्का र ३ चौकासहित ५७ रन बनाए । अघिल्लो खेलमा पनि गायकवाडले अर्धशतकीय पारी खेलेका थिए ।
त्यस्तै, डेभन कन्वेले ४७, शिवम दुबेले २७, अम्बाती रायडूले अविजित २७ र मोइन अलीले १९ रनको योगदान दिए । कप्तान महेन्द्र सिंह धोनीले ३ बलमा दुई छक्कासहित १२ रन बनाए । लखनउका लागि रवि विश्नोई, मार्क वुडले तीनरतीन र आवेश खानले एक विकेट लिए ।






