योजना पास गर्न मात्र धारामा पानी, खोलाको पानी धाराबाट खसालेर योजना सकाइयो

जनपत्र
१७ श्रावण २०७६, शुक्रबार ०५:५२

बाजुरा – बडीमालिका नगरपालिका–९ मछाईना गाउँका ३० परिवारले यो वर्ष नगरपालिकासँग खानेपानीको माग गरेर पानी ल्याउने योजना बनाए ।

तर धाराको पानी खाने आशा पूरा हुन पाएन । यता योजना पास गर्नका लागि खोलाको पानी पाइपमा भरेर उद्घाटनसम्म गरियो र पाइपमा भरिएको पानी सकिएपछि धारामा पानी आउन छोड्यो ।

‘गाउँलेले खेतको पानी खानुको विकल्प छैन, हिउँदमा यो पानी पनि सुक्छ । बाउँली खोलाको पानी बोकेर खाने गरेका छौं ।’ कुलाको पानी भरिरहनु भएकी हिरा विष्टले भन्नुभयो । उहाँले अघि भन्नुभयो, ‘पानी खान पाउने आशा थियो । खानेपानीको लागि कुरा गरिदिनु होला सर भनेर पैसा पनि दियौँ तर पैसा खाइसके, खानेपानी भने आएको छैन ।’

‘तीन ओटा धारा बनायाैँ, पाइपलाइन पनि खन्यौँ तर खाने पानी आएको छैन । पानी आउने कि नआउने अन्योल छ,’ स्थानीय किसन विष्टले भन्नुभयो । मार्तडी बृहत् खानेपानी योजनाको भम्की चौरबाट एकलाइन पानी दिने कुरा थियो’, उहाँले भन्नुभयो, ‘अहिले असार सकिएको पनि १५ दिन बितिसक्यो तर धारामा पानी आएको छैन । ’

खोलाको पानी खान नसक्ने अवस्था भएपछि योजना माग गरेपछि उद्घाटन भएको तर अहिले धारामा पानी नआएको अर्जुन चदाराले गुनासो गर्नुभयो ।नगरपालिकाबाट मछाईना खानेपानीको नाममा पाँच लाख आठ हजार दुई सय ५० रुपैयाँ भुक्तानी भएको छ तर खानेपानी भने धारामा खसेको छैन । भम्की चौरबाट पानी ल्याउन गाडिएको पाइप पनि गाडीले कुल्चेर बिग्रिसकेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज भट्टराईले आफूलाई योजनाका बारेमा पूर्णरुपमा थाहा नभएको बताउनु भयो । योजना निर्माण भैसकेपछि अनुगमन गरेर मात्र भुक्तानी दिनुपर्ने हो तर योजना पूरा हुनुअघि नै बडीमालिका नगरपालिकामा योजना अघि नै भुक्तानी दिइएको छ ।

‘गाउँमा सरकार पुग्दा पनि पानी नआए यो सरकार आएको कामै भएन । पञ्चायतमा त गाग्रीमा पानी परेर पाइपमा पानी हालेर उद्घाटन गरिन्थ्यो । अहिले पनि त्यस्तै भयो’, स्थानीय मानसिं विष्टले बताउनु भयो । उज्यालो अनलाईनबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*