पानीमुनि आणविक ड्रोन आक्रमणको परीक्षण गरेको उत्तर कोरियाको दाबी
उत्तर कोरियाले पानीमुनि आणविक ड्रोन आक्रमणको परीक्षण गरेको दाबी गरेको छ । यो अमेरिका र दक्षिण कोरियाको पछिल्लो सैन्य अभ्यास रोक्न उत्तर कोरियाले दिएको पछिल्लो चेतावनी भएको बीबीसी हिन्दीले जनाएको छ ।
उत्तर कोरियाको आधिकारिक सञ्चारमाध्यमले आणविक तत्त्वले सुसज्जित ड्रोनले शत्रुलाई नष्ट गर्ने बताएको छ । पानीमुनि आणविक ड्रोन परीक्षण गर्दा उत्तर कोरियाली नेता किम जोङसमेत सहभागी भएको तस्बिर पनि सार्वजनिक भएको छ । दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरियाको बढ्दो हतियार दम्भलाई चेतावनी दिँदै महत्त्वाकाङ्क्षी सैन्य अभ्यास गरिरहेका छन् ।
विगतका वर्षहरूमा दुवै देशले यति ठूलो युद्धाभ्यास नगरेको खबरमा उल्लेख छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाले लापरबाह र उक्साहटको मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।