१२ वर्षपछि जापान र दक्षिण कोरियाका उच्च अधिकरीको भेट

जनपत्र
३ चैत्र २०७९, शुक्रबार ०७:४५

जापान तथा दक्षिण कोरियाका नेताहरुबीच १२ वर्षपछि आज जापानको राजधानी टोकियोमा ऐतिहासिक वार्ता भएको छ।

जपानका प्रधानमन्त्री फुमियो किसिदाले आजको वार्तालाई दुइ देशबीचको सम्बन्ध सुधारका लागि ऐतिहासिक कदम भनेका छन्। टोकियो सम्मेलनका लागि दक्षिण कोरियाका राष्ट्रपति युन सुक यी बिहीबार बिहान जापान पुगेका हुन्।

उत्तर कोरियाले जापानी समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको केही घण्टामै जापानी प्रधानमन्त्री र दक्षिण कोरियाली राष्ट्रपतिले आज संयुक्त रुपमा टोकियो सम्मेलन उद्‍घाटन गरेका थिए। दुई मुलुकका शीर्ष नेताहरुको भेटवार्ताले ऐतिहासिक रुपमै तनावपूर्ण सम्बन्ध रहेका यी दुई छिमेकीबीचको सम्बन्धमा सहजता आउने अपेक्षा छ।

तनावपूर्ण इतिहासका कारण दुवै देशबीचको सम्बन्ध जटिल रहँदै आएको छ। जापानले सन् १९१० देखि १९४५ अर्थात दोस्रो विश्वयुद्धको अन्त्यसम्म दक्षिण कोरियालाई आफ्नो उपनिवेश बनाएको थियो। उपनिवेशकालमा जापानी सेनाले कोरियालीमाथि अत्याचार र दमन गरेका थिए। जापानी सेनाले लाखौं कोरियालीलाई आफ्ना खानी तथा कारखानामा बँधुवा मजदुर र महिलालाई यौनदासी बनाएका थिए। उपनिवेशकालीन घाउलाई दक्षिण कोरियालीले अहिलेसम्म न बिर्सेका छन् न क्षमा गरेका छन्।

कटुतापूर्ण सम्बन्ध रहे पनि यी दुवै देश अमेरिकाका निकटतम् मित्र हुन्। उनीहरुको सम्बन्ध सुधारले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको एसिया नीतिलाई सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*