जनै र गुन्द्रुकसमेत विदेशबाट आयात

नेपालले आर्थिक वर्ष ०७५/०७६ मा जनै र गुन्दु्रकसमेत विदेशबाट आयात गरेको पाइएको छ । भारतबाट जनै र चीनबाट गुन्द्रुक आयात गरिएको हो ।
गुन्द्रुकलाई नेपालको मौलिक खानेकुरा मानिन्छ । तर, यसमा समेत नेपाल आत्मनिर्भर हुन नसक्नुले नेपालको व्यापार घाटा किन डरलाग्दोगरी बढिरहेको छ भन्ने संकेत दिन्छ । भन्सार विभागले जारी गरेको तथ्यांकमा अघिल्लो आवमा चीनबाट गुन्द्रुक आयात गरिएको उल्लेख भए पनि परिमाण खुलाइएको छैन ।
यी दुईवटा उदाहरण मात्रै हुन् । नेपालमै सहजरुपमा उत्पादन गर्न सकिने वस्तुमा समेत परनिर्भरता चुलिएपछि देशको ब्यापार घाटा अनियन्त्रित बनेको बुझ्न कठिन छैन । विभागका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा नेपालले कुल १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँको व्यापार गर्यो । एक वर्षमा ९७ अर्ब १० करोड रुपैयाँ बराबरको समान तथा वस्तु विदेश निर्यात गर्दा १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको विभागले जनाएको छ ।