एक वर्षमा नेपालीले पड्काउँछन् ७२ करोडको चुइङ्गम

गत आर्थिक वर्षमा २१ लाख ४७ हजार ९ सय १७ केजी चुइङ्गम आयात भएको छ।भन्सार विभागले प्रकाशित गरेको तथ्यांक अनुसार एक वर्षमा ७१ करोड ८६ लाख ९४ हजार रुपैयाँको चुइङ्गम आयात भएको छ। चुइङ्गम आयातबाट सरकारले एक वर्षमा ४३ करोड ९० लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ।
भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/७५मा विभिन्न १० देशबाट ३२ करोड २१ लाख रुपैयाँ बराबरको चुइङ्गम आयात भएको थियो। त्यसअघि आवर्ष २०७३/७४ मा ३९ करोड २३ लाख रुपैयाँ बराबरको चुइङ्गम आयात भएको थियो।
नेपालमा बंगलादेश, बेल्जियम, चीन, भारत, दक्षिण कोरिया, स्वीडेन, थाइल्यान्ड, बेलायत र अमेरिकाबाट चुइङ्गम आयात हुने विभागको तथ्यांकमा उल्लेख छ। नेपालबाट निर्यात हुने चुइङ्गमको परिमाण आयातको तुलनामा निकै कम छ।
गत आर्थिक वर्षमा नेपालबाट ६१ लाख ६० हजार रुपैयाँ बराबरको १३ हजार ८ सय २७ केजी चुइङ्गम निर्यात भएको तथ्यांकमा उल्लेख छ। नेपालबाट चीन र भारत चुइङ्गम निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ।