बकैयामा नमूना युवा गाउँसभाको अभ्यास सम्बन्धी प्रशिक्षण

जनपत्र
१७ फाल्गुन २०७९, बुधबार ०७:२५

हेटौंडा । बकैया गाउँपालिकाको आयोजना तथा जिल्ला युवा समितिको कार्यालय मकवानपुरको संयोजनमा बकैयामा पहिलो पटक नमूना युवा गाउँसभाको अभ्यास सम्बन्धी ३ दिवसीय प्रशिक्षण कार्यक्रम आजबाट सुरु भएको छ ।

बकैया गाउँपालिकाको १२ वटै वडाहरुमा गठित वडा स्तरिय युवा क्लबका पदाधिकारी तथा सदस्यहरु सहभागी तालिम ३ दिन सञ्चालन हुँदै नमूना युवा गाउँसभा सञ्चालन भएपश्चात समापन हुनेछ ।

कार्यक्रममा वडा स्तरिय युवा क्लबको आवश्यकता र महत्त्व, युवा नीति, नेतृत्व, राज्यप्रणाली, नेतृत्व विकास, युवा मार्गदर्शन, नगरपरिषद्, यसको संरचना लगायतका विषयवस्तुमा प्रशिक्षण प्रदान गरिने जिल्ला युवा समितिका अध्यक्ष शिवहरि दाहालले जानकारी दिए ।

अध्यक्ष दाहालले तालिममा युवा जीवन र मार्गदर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, सूचनाको हक, नेपालमा युवा संसदको अवधारणा र अभ्यास, युवा क्लब र युवा क्लब गठन प्रक्रिया, स्थानिय योजना निर्माणका सात तहहरु र वस्तीस्तरको योजना निर्माणमा युवा क्लबको भूमिका, गाउँसभा सञ्चालन सम्बन्धी कार्यविधि तथा गाउँसभामा पालना गर्नुपर्ने नियमहरुका विषयमा पनि सहजीकरण गरिने जानकारी दिए ।

प्रशिक्षणमा बकैया गाउँपालिका १२ वटै वडाका ४५ जना युवाहरुलाई राष्ट्रिय प्रशिक्षक सन्जिप न्यौपाने र सन्देश गौतमले सहजीकरण गरेका छन् ।

प्रशिक्षण कार्यक्रमको आज एक कार्यक्रमको बिच बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले उद्घाटन गरेका थिए ।

कार्यक्रम बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिका ३ नं वडा अध्यक्ष भुमल सिङ घलान, ४ नं वडा अध्यक्ष राजन दङाल तथा ९ नं वडा अध्यक्ष टंकध्वज लोप्चन, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, जिल्ला युवा समितीका अध्यक्ष शिवहरि दाहाल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख आइतराम तामाङ लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*