क्रिकेट सधै जित्ने मकवानपुरे श्रेष्ठले ब्लड क्यान्सर जित्न सकेनन्

दुई वर्षदेखि ब्लड क्यान्सर रोकसँग लडिरहेका मकवानपुरे क्रिकेटर निरज श्रेष्ठले संसार छोडेर गए ।
जनपत्र
१२ श्रावण २०७६, आईतवार १३:२१

मकवानपुर – मकवानपुर क्रिकेट टिमका पूर्व कप्तान निरज श्रेष्ठको निधन भएको छ ।

रक्त क्यान्सरबाट पीडित श्रेष्ठको आइतबार बिहान काठमाण्डौकाेशहीद मेमोरियल अस्पतालमा ३६ वर्षकाे उमेरमा निधन भएको हो । आठ महिनादेखि  नेपाल तथा भारतका विभिन्न अस्पतालमा रक्त क्यान्सरको उपचार गराइरहेका श्रेष्ठको आइतबार निधन भएको हो।

क्रिकेट खेल त्यति बेलै नेपालमा कमै खेलिन्थ्यो । कम मान्छेको रुचिमा थियो क्रिकेट । मकवानपुरमा पनि क्रिकेटको क्रेज त्यती आशा लाग्दो थिएन् ।

मकवानपुरमा क्रिकेट प्रतियोगिताका के राम्रा खेलाडी पनि त्यतिबेला पातलै थिए । अझै भनौं मकवानपुरको क्रिकेटमा खडेरी थियो । त्यही खडेरी टारेका थिए, मकवानपुरे क्रिकेट पूर्व खेलाडी तथा कप्तान निरज श्रेष्ठले । त्यसैले पनि निरजलाई यहाँको क्रिकेटको हस्तीको रुपमा लिइन्छ ।

मकवानपुरे क्रिकेटलाई उचाईमा पुर्याउन अथक मिहेनत गरेका उनै निरज आज संसार छोडेर गएका छन् । आज आइतबार बिहान ५ बजे कलंकी शहिद मेमोरियल अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको अन्दाजी ३६ वर्षको अल्पायुमै निधन भएको हो ।

क्रिकेटर निरज करिब २ वर्षदेखि ब्लड क्यान्सर रोकसँग लडिरहेका थिए । भारतको नयाँ दिल्लीदेखि काठमाडौंका अधिकांश अस्पतालमा उनले बाँच्ने आशले उपचार गराएका थिए । उनलाई बचाउन राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कासहित सिनियर खेलाडीले हेटौंडामै च्यारिटी क्रिकेट म्याच खेलेका थिए ।

च्यारिटी क्रिकेट म्याचबाट उठेको रकम निरजकै उपचारमा खर्च गरिएको थियो । मकवानपुर क्रिकेट संघले समयसमयमा सहयोग गरेको थियो । तर, निरजले अस्पतालको बेडबाटै संसारलाई बिदा गरेका छन् ।

हेटौंडा–५ सानोपोखरा निवासी निरज हाल मकवानपुर क्रिकेट संघका सदस्य हुन उनी संघको पुर्व कोषाध्यक्षसमेत थिए । उनी मकवानपुर क्रिकेट टिमको पुर्व कप्तानसमेत रहिसकेका छन् । मकवानपुरे क्रिकेटले ठुलो क्षतिको सामना गर्नुपरेको क्रिकेट संघका दिपेन्द्र ढकालले बताए ।

१५ वर्षको उमेरमै क्रिकेटको ब्याट उचालेका निरजले ४ वटा राष्ट्रियस्तरको क्रिकेट लिग खेलिसकेका थिए । २०६०–६१ सालदेखि मकवानपुर क्रिकेट टिमको कप्तानी सम्हालेका थिए उनले । उनकै कप्तानीमा रहेको टिमले जिल्लास्तरीय प्रतियोगिताको धेरै उपाधि जितेको थियो ।

निरजलाई श्रद्धाञ्जली अर्पण गर्न मकवानपुर क्रिकेट संघको टोली काठमाडौं लागेको छ । उनको सम्मानका साथ अन्त्यष्टी गरिने संघका ढकालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*