प्रदेशसभाको अनिश्चितताले यातायातको करोडौं राजस्व गुम्दै

जनपत्र
११ श्रावण २०७६, शनिबार ०९:३८

मकवानपुर — प्रदेशसभा बैठकको अनिश्चितातले दैनिक करोडौं रुपैयाँबराबरको राजस्व सरकारले गुमाइरहेको छ ।प्रदेशले गत माघमा ल्याएको यातायात तथा सवारी व्यवस्था ऐन–२०७५ को चौतर्फी आलोचनासँगै सरकारले तत्कालका लागि सवारीसाधान नवीकरण बन्द गरेसँगै दैनिक करोडौं रुपैयाँ बराबरको राजस्व गुमाइरहेको हो ।

उक्त ऐन संशोधन गर्न प्रदेशसभाको बैठक बस्नुपर्ने भए पनि हालसम्म बैठकको मिति तोकिएको छैन । चालु आर्थिक वर्ष ०७६र७७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गर्दै असार १२ मा अर्को सूचना नआएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक करिब एक महिना बितिसक्दा पनि बस्ने टुंगो लागेको छैन ।

‘प्रदेशसभाको बैठक राख्ने विषयमा छलफल भइरहेको छ । तर, मिति तोकिएको छैन । अधिकांश सांसद्हरू बाढीपहिरोका कारण आ–आफ्नो निर्वाचन क्षेत्रमा गएकाले हामीले बैठकको मिति तय गर्न नसकेका हौं,’ प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले भने, ‘प्रदेशसभाको बैठक अर्को साता वा साउनको अन्तिममा राख्ने निश्चित भएको छ । प्रदेश सरकारको आन्तरिक आयमध्ये सवैभन्दा बलियो स्रोत यातायात कर हो ।

वार्षिक करिब दस अर्ब रुपैयाँ यस क्षेत्रबाट कर संकलन हुने गरेको छ । यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका प्रमुख पोषण थापाले सवारी नवीकरण नहुँदा दैनिक करोडौंको राजस्व प्रदेश सरकारले गुमाइरहेको बताए । ऐनमा आर्थिक वर्ष कटेपछि नवीकरण गर्दा सवारीसाधन करको दोब्बर दस्तुर तिर्नुपर्ने व्यवस्था राखिएको थियो ।

उक्त व्यवस्थाको विरोध भएसँगै कानुन संशोधन नगर्दासम्म सवारीसाधान नवीकरण प्रदेश तहबाट बन्द गरिएको छ । प्रदेश ३ अन्तर्गत काठमाडौं उपत्यकामा आठवटा, चितवनको भरतपुर मकवानपुरको हेटौंडामा यातायात व्यवस्था सेवा कार्यालयबाट दैनिक भइरहेको सवारी नवीकरण हाल बन्द भएको छ । आजको कान्तिपुर दैनिकमा छापिएको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*