सेल्फीले लियो युवतीको ज्यान

जनपत्र
११ श्रावण २०७६, शनिबार ०६:४५

लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–७, हलेदेमा नदी किनारमा सेल्फी खिच्न गएकी एक युवतीको तामाकोशीले बगाएर ज्यान गएको छ ।

भक्तपुर कमलविनायककी १८ वर्षीया शर्मिला कर्माचार्यको सेल्फी खिच्ने बेलामा तामाकोशीले बगाएर शुक्रबार दिउँसो ज्यान गएको हो । उनी भक्तपुरबाट रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखाको भिमेश्वर मन्दिर दर्शनका लागि जाँदै थिइन् ।

रामेछापको सदरमुकाम मन्थलीवाट दोलखातर्फ जाने क्रममा लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ तिल्पुङ्गको हलेदे भन्ने ठाउँमा सेल्फी खिच्ने क्रममा उनको चप्पल चिप्लिएर तामाकोशी नदीमा खसेकी थिइन् । १ किलोमिटर तल मन्थली नगरपालिका वडा नम्बर–१, आकाशेको पक्की पुलनजिक बग्दै आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले दिएको खबर पाउनासाथ मन्थलीको आकाशेमा रहेको सशस्त्र प्रहरी गुल्मबाट गएको टोलीले उनलाई जीवितै उद्धार गरेको थियो । उनको अवस्था चिन्ताजनक भएकाले तत्कालै मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी   दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*