एसईईको पूरक परीक्षा विवादमा

जनपत्र
११ श्रावण २०७६, शनिबार ०६:४०

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘सी वा सी’ भन्दा कम ग्रेड प्राप्त सबै विषयमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने निर्णय विवादमा परेको छ । शिक्षा मन्त्रालयको निर्णयअनुसार राष्ट्रिय परीक्षा बोर्डले आगामी भदौ १ देखि परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेका बेला विवाद बढेको हो ।

शिक्षाविद् र बोर्डकै उच्च तहका कर्मचारीले सबै विषयमा ग्रेडवृद्धि गर्न दिने प्रावधानप्रति असन्तुष्टि जनाएका छन् । गत वर्षसम्म बढीमा दुई विषयमा ‘सी’ वा ‘सी’ भन्दा तल्लो ग्रेड प्राप्त गर्ने परीक्षार्थी ग्रेडवृद्धिमा सहभागी हुन पाउने प्रावधान थियो । यसपटक गत चैतको एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित भई ‘सी वा सी’ भन्दा कम ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेको विषयमा पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।
बोर्डले दुई विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने गरी साउन २६ र २७ गतेका लागि परीक्षा तालिका तोकेको थियो तर मन्त्रालयले अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि २०७२ संशोधन गरेर जति पनि विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने प्रावधान ल्याएको हो । यो व्यवस्थाले एसईईको मूल परीक्षाको मर्ममा प्रहार गर्ने शिक्षाविद्हरूको भनाइ छ । ४ लाख ७५ हजार परीक्षार्थीले एसईई परीक्षा दिएका थिए । असार ११ गते प्रकाशित नतिजाअनुसार गणित विषयमा मात्र ३ लाख २० हजार ८ सय विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*