जापानी भाषा परीक्षा आउँदो कात्तिकमा

नेपाल र जापानबीच गएको चैतमा श्रम समझदारी भयो । समझदारी अनुसार जापानले निर्धारण गरेका १४ वटा कामका क्षेत्रमध्ये अहिलेलाई ‘नर्सिङ केयर गिभर’को काममा नेपाली कामदार लैजाने भएको छ ।
आउँदो कात्तिकमा भाषा र सीप परीक्षण हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जापान फाउण्डेशनले कात्तिक ११ र १२ मा भाषा परीक्षा तथा २१ र २२ मा सीप परीक्षण सञ्चालन गर्ने मिति आफ्नो वेवसाइटमा राखे पनि मन्त्रालयलाई आधिकारिक मिति तोकेर पत्र नआएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार महाशाखाका उपसचिव दीपक ढकालले बताउनुभयो ।
जापानले लैजाने ‘स्पेसिफाइड स्किलड वर्कर’ का लागि भाषा र सीप दुवै परीक्षा अनिवार्य पास गर्नुपर्छ । नर्सिङ केयरगिभरको काममा जानका लागि भाषा परीक्षामा इच्छुक सबै सहभागी हुनसक्ने ढकालले जानकारी दिनुभयो ।