गुल्मी पहिरो : ज्यान गुमाउनेको संख्या ११ पुग्यो

जनपत्र
८ श्रावण २०७६, बुधबार ०७:४७

गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । २ जना अझैं बेपत्ता भएका छन् । सत्यवति गाउँपालिकाका २ वटा वडाका ३ घर पहिरोमा पुरिँदा ११ जनाको मृत्यु भएको हो । वडानम्बर ४ मा पर्ने लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ भने वडानम्बर ३ को ठूलो लुम्पेकमा ३ जनाको मृत्यु भएको छ ।

लिम्घामा मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अन्य २ जनाको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । लिम्घामा मृत्यु भएका एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीय शिवानी बिकको शव बाहिर निकालिएको प्रहरी जनाएको छ ।

वडानम्बर ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजाली मृत्यु भएको छ । पहिरोमा परेका ८ वर्षीया तारा बिक र ६ वर्षीय सुमन बिकको शव भने निकाल्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए ।

ठूलो लुम्पेमै रुद्र बिकको घर पनि पहिरोले पुरेकोे छ । पहिरोमा परी ४० वर्षीया मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् । अन्य २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सत्यवति-४ का १० वर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनि त्रामु रहेको प्हरीले जानकारी दिएको छ । उद्धारका लागि प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रामयमाझीसहितको टोली खटिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

पहिरो प्रभावित क्षेत्रमा डाक्टरसहितको स्वस्थ्य टोली पनि पुगेको छ । पहिरो ठूलो भएकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*