बिहीबारसम्म बदली र वर्षाः बाढी, पहिरो र चट्याङ्गको खतरा

जनपत्र
७ श्रावण २०७६, मंगलवार ०९:१०

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी बिहीबारसम्म नै देशभरी बदली र वर्षाको सम्भावना रहेको जनाएको छ ।  सोही विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज तिनाउ नदीको जलसतहले खतराको तह पार गरेको जनाएको छ । जलसतह बढ्दो रहेकाले बुटवलभन्दा तल्लो तटीय डुबान भइरहने क्षेत्रमा रहनेहरुलाई आज बेलुकासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह महाशाखाले आग्रह गरेको छ ।

रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, नवलपुर, परासी, तनहुँ, गोरखा, धादिङ्ग, लमजुङ्ग, चितवन,पर्सा, बारा,मकवानपुर, रौतहट, सिन्धुली र आसपास मध्यम तथा भारी वर्षा बिहान भएको र थप हुने देखिएकोले ती जिल्लाको ससाना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले सतर्क रहन आग्रह गरिएको छ । विभागकै मौसम पूर्वानुमान महाशाखाले अहिले देशभरी सामान्यदेखि पूर्ण बदली भइ उपत्यकालगायत अधिकांश स्थानमा वर्षा भइरहेको र नवलपरासी, चितवनलगायतका स्थानमा चट्याङ्गसमेत परिरहेको जनाएको छ । केही समय वर्षाको क्रम जारी रहने समेत पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व र मध्यका केही स्थानमा आज भारी वर्षा हुने र पश्चिमका एक वा दुई स्थानमा पनि यस्तै अवस्था रहेको जनाइएको छ । पहाडी भागमा पहिरोसमेत जान सक्ने भएकोले सतर्क रहन आग्रह गरिएको छ ।  मौसमको अवस्थाका कारण हवाई तथा सडक यातायातमा पनि प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*