घुसहित धमाधम पक्राउ पर्दै इन्जिनीयर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन जना इञ्जिनीयरलाई नियन्त्रणमा लिएको छ ।
बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरूलाई घुसहित शनिबार पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे । उनका अनुसार इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले सिरहाको गोलबजार नगरपालिकाका सवइञ्जिनीयर उमा श्रेष्ठलाई रु ५० हजार घुससहित पक्राउ गरेको छ । शौचालय निर्माणको भुक्तानी सहज गरिदिने भन्दै सेवाग्राहीसँग उनले घुस मागेको आयोगले जनाएको छ । आयोगले श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको भए पनि शनिबार सार्वजनिक गरेको हो ।