सालीसँग प्रेम, श्रीमतीको हत्या– भारतीय कन्ट्रयाक्ट किलरलाई १० लाखको सुपारी

जनपत्र
२ श्रावण २०७६, बिहीबार ०६:१९

एक वर्षदेखि नातामा साली पर्नेसँग प्रेम थियो । उक्त सम्बन्ध र अन्तरंग क्रियाकलापको विषयमा श्रीमतीले थाहा पाइन् । त्यसपछि दुइबीचको सम्बन्ध चिसियो । सालीले पनि आफू आउन तयार भएको तर श्रीमतीलाई पन्छाउनुपर्ने संकेत गरेपछि रमेश नेपाली सुरिए ।  श्रीमतीलाई साइड लगाउने योजना त्यतिबेलैदेखि बनेको हो । घटना हुनुभन्दा ४ महिना अगाडि नेपालीले श्रीमतीको नाममा १ करोड रुपैयाँको जीवन बिमा गरिदिए । पोखराकै युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गरेपछि बिमाबापत मोटो रकम आउने आशा नेपालीको थियो ।

बिमाबापतको रकम हत्याउने र श्रीमतीलाई पन्छाउने अनि सालीसँगको सम्बन्धलाई निरन्तरता दिन उनले अन्य साथीहरुको सहयोग लिए र भारतीय कन्ट्रयाक्ट किलरहरुले १० लाख रुपैयाँमा असार १ गते रमेश नेपालीको योजना साकार पारे ।
पोखरा महानगरपालिका १५ बस्ने रमेश नेपालीले श्रीमतीको हत्यापछि प्रहरीसँगको बयानमा भनेका छन् ।

अनुसन्धानको क्रममा प्रहरीले नेपालीले श्रीमतीको हत्या हुनुको कारण सालीसँगको सम्बन्ध र बिमा रकमलाई मानेको छ । योजनाबद्ध हत्याको बारेमा थाहा पाउन कास्की प्रहरीले एक महिना लगायो । आफैँ योजनाकार रहेका नेपालीले घटना घटिसकेपछि प्रहरी कार्यालयदेखि आफन्तहरुलाई समेत जानकारी दिएर श्रीमती खोजिदिन समेत आग्रह गरेका थिए ।

यस्तो छ घटना 

घटना गत असार १ गतेको हो । कास्की प्रहरीमा श्रीमती हराएको भन्दै खोजिका लागि असार २ गते निवेदन आयो । श्रीमती हराएको सूचना दिने चाहिँ उनै रमेश नेपाली थिए । ३३ वर्षीय नेपालीले आफ्नी २७ वर्षीय श्रीमती लक्ष्मी हराएको भन्दै खोजतलास गरिदिन निवेदन दिएपछि प्रहरी अगाडि बढ्यो ।
रमेश नेपालीले निवेदन मात्र दिएनन्, प्रहरीलाई दबाब पनि दिए । त्यसपछि प्रहरीले आफन्त, नातेदारसँग सोधपुछसहित अनुसन्धान अगाडि बढायो । तर, हात लाग्यो शून्य ।

घटना घटेको २५ दिनपछि असार २५ गते नयाँ ट्विस्ट आयो । प्रहरीले लक्ष्मीको हत्याको शंकामा निवेदक लक्ष्मीकै श्रीमान रमेशलाई पक्राउ गर्‍यो ।

रमेशलाई पक्राउ गर्नुको कारण थियो, लक्ष्मीको अन्य कोहीसँग सम्बन्ध नहुनु र उनले प्रयोग गर्दै आएको मोबाइल रमेशको मोबाइल पसलमै हुनु । नेपालीले मोबाइल पसल सञ्चालन गर्ने र श्रीमतीको मोबाइल पसलमै हुनुले प्रहरीको नजर निवेदकतर्फ नै सोझियो । सँगै ४ महिना लक्ष्मीको नामको १ करोड रुपैयाँको बिमा हुनुले पनि प्रहरीले अनुसन्धानको दायरा बढायो ।

प्रहरीको सोधपुछबाट रमेश नेपाली गले र स्वीकारे, “आफ्नै श्रीमतीको योजनाबद्ध हत्या ।”

असार २५ गते पक्राउ परेका रमेश नेपालीले हत्या गरेको स्वीकार्दै, घटनास्थल पनि बताइदिए । घटनास्थल थियो, पोखरा महानगरपालिका वडा नं. २२ स्थित कर्कलेको जंगल । प्रहरी त्यहाँ पुग्दा लक्ष्मीको टाउको र शरीर छुट्टिएको थियो । उनले लगाएको कुर्ता सुरुवाल शरीरमै थियो । तर, लुगाभित्रको शरीरमा मांस भने थिएन । लक्ष्मीको कंकाल मात्र बाँकी थियो ।

भारतीय कन्ट्रयाक्ट किलरलाई १० लाखको सुपारी

रमेश नेपालीको साली नाता पर्ने १९ वर्षीय अनु परियारले १ वर्षअघि भनेकि थिइन्, “अब दिदीलाई साइड लगाइदिनुस् ।” सालीको वचन पूरा गर्न उनले साथीको सहयोग लिए । मोबाइल पसल सञ्चालन गर्ने रमेशले अरु साथि पनि मोबाइल पसले नै रोजे  ।

पोखराको पृथ्वीचोकमा मोबाइल पसल सञ्चालन गर्दै आएका सर्लाही इश्वरपुर–तिनघरिया स्थायी घर भएका २६ वर्षीय चित्तरञ्जन शाह र भोजपुर–५ घर भइ पोखराको महेन्द्रपुलमा मोबाइल पसल गर्ने ३२ वर्षीय संजय शर्मासँग नेपालीले एकजना आइमाइलाई मार्नुपर्यो, सहयोग चाहियो भनेका थिए ।

अभियुक्तहरुका अनुसार रमेशले मानुपर्ने व्यक्ति आफ्नै श्रीमती भएको साथीहरुलाई समेत भनेका थिएनन् । उनले ‘राम्रो पैसा आउँछ’ चाहिँ भनेका थिए । रमेशको आग्रहमा शाहले भारत मामाघर भएको हुँदा उतैका तीनजना कन्ट्रयाक्ट किलरलाई भेटे र योजना सुनाए । १० लाख रुपैयाँमा काम फत्ते गर्न डिल भयो । पोखरा आएकै दिन भारतीयलाई १ लाख रुपैयाँ पेश्कीस्वरुप नेपालीले उनै शाहमार्फत १ लाख रुपैयाँ एड्भान्स बुझाए ।

काम भएको दिन ५ लाख दिने र बाँकी ४ लाख उनै शाहमार्फत बुझाईने सहमति भयो । सोही सहमतिअनुसार भारतबाट जेठ ३१ गते ३ जना पेशेवर हत्याराहरु पोखरा आए । होटेलको व्यवस्था समेत उनै शाहले गरिदिए ।

यसरी घट्यो घटना …

जेठ ३१ गते नै योजना तय भइसकेको थियो । सुपारी लिएकाहरु सहित रमेश, सञ्जय र चित्तरञ्जनले हत्या गर्ने ठाउँको अघिल्लै दिन अवलोकन गरे र योजना बनाए । असार १ गते बिहान रमेश र सञ्जयले लेकसाइडस्थित पोखरा बाइक रेण्ट प्रालिबाट ग. ११ प. ८००३ नम्बरको स्कुटर भाडामा लिए ।

त्यस्तै पोखरा नयाँबजारस्थित दीपक कार डेकोरबाट ग. १ च. २३६३ नम्बरको कार पनि भाडामा लिए । सो कार लिएर सञ्जय शर्माले कोशी होटलमा आई चित्तरञ्जनसहित भारतीय ३ जना कन्ट्रयाक्ट किलरलाई लिएर पोखरा २२ पुम्दीभुम्दीस्थित कर्कले जंगल पुगे ।

पूर्वयोजनाअनुसार रमेशले खुट्टामा भएको घाउ निको पार्न जडीबुटी खोज्न जाउँ भन्दै लक्ष्मीलाई लिएर कर्कले जंगल पुगे । जंगलमा पुगेपछि रमेशले मलाई पिसाब लाग्यो एकैछिनमा आउँछु तिमी झार खोज्दै तलतिर जाउ भने ।

जडिबुटी खोज्दै केहि तल पुगेकी लक्ष्मीलाई त्यहाँ पहिल्यै लुकेर बसेका बसेका भारतीय कन्ट्रयाक्ट किलरले मुख र आँखामा सल बाँधेर चक्कुले घाँटी रेटेर हत्या गरे । हत्या गरेर जंगलबाट निस्केका भारतीय कन्ट्रयाक्ट किलरले सोहि दिन थप ५ लाख रुपैयाँ लिए । बाँकी ४ लाख चित्तरञ्जनमार्फत पछि लिने भन्दै भारततर्फ लागे ।
रमेश भने सोही दिन आफ्नी श्रीमती हराएको उजुरी बोकेर बिलौना गर्दै जिल्ला प्रहरी कार्यालय पुगे ।

उनले श्रीमती खोजिदिन सार्वजनिक संचारमाध्यमसँग आग्रह पनि गरे । पछि लक्ष्मीकी आमाले पनि हराएकी छोरी खोज्न प्रहरीकहाँ निवेदन दिइन् । गहिरो अनुसन्धानमा लागेको प्रहरीले हत्यामा श्रीमानकै संलग्नता भएको पत्ता लगायो र रमेशलाई असार २५ गते पक्राउ गर्‍यो ।
पक्राउपछि पोल खोल्यो, “हत्या रमेशले नै गरेको हो ।”

अहिले रमेशसहित साह र शर्मा थुनामा छन् । हत्यामा संलग्न भारतीयहरु भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । उनीहरुलाई कन्ट्रयाक्ट किलरको भने खोजी भइरहेको तर पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले बताए ।
पक्राउ गरिएका चारै जनालाई बुधबार सार्वजनिक गरिएको छ । उनीहरुलाई मानव हत्या सम्बन्धी मुद्दा चलाइने उनले जानकारी दिए ।

बाराखरीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*