साउन देखिनै बजेट कार्यान्वयनको तयारी गर्दै प्रदेश ३ सरकार

प्रदेशको सबै बजेट खर्च गर्ने तयारी गर्दै छौ–मन्त्री ढुंगेल
जनपत्र
१ श्रावण २०७६, बुधबार १२:२८

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यान्वयनमा जोड दिने भएको छ । बितेको आर्थिक वर्षमा काम गर्नका लागि कानुन अभाब, कर्मचारीको समस्या, कार्यालयगत प्राबिधिक नहुनु लगायतका समस्याले धेरै वजेट कार्यान्वयन गर्न नसकेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो । तर, चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन गर्नका लागि तत्काल सुरु गरिने उहाँले बताउनुभयो ।

बितेको आर्थिक बर्षमा सबैजसो मन्त्रालय र प्रदेशका कार्यालयले बजेट कार्यान्वयन गर्न सकेनन् । त्यसैले चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन गर्नका लागि कार्यबिधि बनाउने काम सुरु गरिहाल्ने, अपुग प्रशासनिक र प्राबिधिक कर्मचारी पुरा गर्ने, आवस्यक कानुन निर्माण गर्ने र बजेट खर्च गर्ने कामलाई तिब्रता दिइने मन्त्री ढुंगेलले बताउनुभयो । बजेट खर्च गर्नका लागि पहिलेका वर्षमा जस्तो समस्या नहुने बताउँदै उहाँले भन्नुभयो–‘पहिले कानुन अभाब, कर्मचारी नहुनु लगायतका समस्याले हामिले ल्याएको बजेट खर्च गर्न सकेनौ । अव बजेट खर्च गर्नका लागि समस्या छैन । सबैजसो तयारी पुरा गरेका छौ । बजेट खर्च गर्नका लागि यही साउनबाटनै लाग्छौ ।’

प्रदेश नम्बर ३ सरकारले चालु आर्थिक बर्ष २०७६–०७७ का लागि ४७ अर्ब ६० करोड ८७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । कुल बजेट मध्यमा ५१ दशमलब ३९ प्रतिशत अर्थात २४ अर्ब ४६ करोड रुपैयाँ चालु खर्च रहेको छ । त्यसैगरी पुँजीगत खर्च तर्फभने ४७ दशमलब ९८ प्रतिशत अर्थात २२ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ छुट्याइएको अर्थ मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताउनुभयो । बित्तीय ब्यबस्थापनमा ३० करोड रुपैयाँ छुट्याइएको छ ।

प्रदेश सरकारले प्रदेश गौरबका योजनाहरुलाई धेरै रकम छुट्याएर काम गर्ने योजना बनाएको छ । गत आर्थिक बर्षका लागि ल्याइएको प्रदेश गौरवका योजना र फेरी थप गरेर गौरबका योजना ल्याइएको छ । प्रदेश सरकारले हेटौंडा–भिमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङमार्गा निर्माण गर्ने भएको छ । चालु आर्थिक बर्षका लागि पनि सुरुङमार्गमा गौरबको योजनाका रुपमा बजेट छुट्याएर काम भने गर्न सकिएको थिएन । तर, आउँदो आर्थिक बर्षमा पनि रकम छुट्याएर काम गर्न लागिएको हो ।

त्यसैगरी प्रदेशका १३ वटै जिल्लालाई जोड्नका लागि पुस्पलाल चक्रपथ निर्माण गरिने भएको छ । प्रदेश सरकारको गौरवका योजनाका रुपमा मदनकुमार भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माण गर्ने आर्थिक मामिला मन्त्री ढुङ्गेलले बताउनुभयो । हेटौंडा अस्पताललाई ३ सय बेढ बनाउनका लागि प्रदेश सरकारले बजेट छुट्याएको छ । यसैगरी प्रदेश सरकारको गौरवको योजनाका रुपमा प्रदेश बिश्व बिद्यालय निर्माण गरिने उहाँले बजेटमा प्रस्तुत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*