मकवानपुरमा बर्सेनि बग्छ करोडौंको सडक, नयाँ सडकमा धेरै पहिरो
हेटौंडा । तीनै तहका सरकारले मकवानपुरमा नयाँ सडक निर्माण, निर्माण भइसकेका सडकलाई थप निर्माण र सडकको स्तरीकरण लगायतका कामका लागि करोडौ रुपैयाँ खर्च गरेका छन् । स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले सडक निर्माणका लागि गरिएको करोडौ रुपैयाँ बाढी र पहिरोमा बग्ने समस्या छ ।
असारको अन्तिम सातामा लगातार बर्षाका कारण मकवानपुरका दशवटै स्थानीय तहमा बनाइएका केही सडक बाढी र पहिरोका कारण बगाएका छन् । केही सडकमा गाडी चल्नै नसक्ने अवस्थामा पुगेका छन् । तीनै तहका सरकारले प्रत्येक वर्ष सडक निर्माण र मर्मतसम्भारका लागि ठूलो बजेट विनियोजन गर्छ । ग्रेड नमिलेको, घुम्ती नै घुम्ती र भीरको बाटो, हिलो, जंगल, खेतवारीमा सडक निर्माण गरिएका कारण गाउँगाउँका सडकमा गरिएको लगानी बर्सेनि भेलसँगै बग्ने गर्छ ।
मकवानपुरको राक्सीराङ गाउँपालिकामा बितेको आर्थिक वर्षमा नयाँ निर्माण गरिएका सडक बाढी र पहिरो संगै बगेको अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । पहिले बनाइसकेका सडक भन्दा पनि बितेको आर्थिक वर्षमा नयाँ ट्रयाक खोलिएका सडक बाढी र पहिरोको जोखिममा परेको उहाँले बताउनुभयो । अहिलेको अवस्थामा त बषौ अघि बनेका र गाउँपालिका पुग्ने सडक समेत अवरुद्ध बनेकाले अवको केही दिनमा निर्माण गरिने अध्यक्ष मल्लले बताउनुभयो ।
मकवानपुरमा स्थानीय तह गठनपछिका २ वर्ष र त्यसअघि बर्सेनि सडकमा निर्माण र मर्मतको बजेट खन्याइएको छ । ग्रेड नमिलेको सडक, धेरै घुम्ती र भीरको बाटो हुँदा बर्सेनि लगानी बितेको असारको भेलसँगै बगेको छ । बनेका सडक कति बगे अहिले पनि सबै बिवरण आइनसकेको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताउनुभयो । अहिले कैलाश जाने तीनै तिरका सडक बिग्रीएको र गाउँका नयाँ सडकहरु धेरैजसो भत्कीएको उहाँले बताउनुभयो ।
बर्सेनि सडक बग्ने क्रमले यहाँका सयौं मानिसले गाउँ पुग्न सास्ती खेपेका छन् । मकवानपुरका बिकट मानिने राक्सीराङ, कैलाश, बागमती लगायतका गाउँपालिकाका केही वडामा असारदेखि कात्तिकसम्म ज्यान हत्केलामा राखेर यात्रा गर्नुपर्ने स्थानीय वासिन्दाले बताएका छन् । गाउँमा उत्पादन भएको तरकारी बजार सम्म ल्याउन र बजारबाट दैनिक उपभोग्य सामान गाउँमा पुर्याउनका लागि समस्या भएको स्थानीयको भनाई छ ।
सडक अवरुद्ध भएकै कारण मकवापनुरको मनहरी गाउँपालिकाको हाँडिखोलामा उत्पादित तरकारी बजार सम्म ल्याउनका लागि किशानहरुले सबै भन्दा बडी सास्ती खेप्नुपरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । गाउँका सडक अवरुद्ध हुँदा गर्भवती महिला, बूढाबूढी र बिरामीले यो सडकमा यात्रा गर्दा सबैभन्दा धेरै सास्ती खेपेका छन् ।
यसअघि हरेक सडक योजनामा डोजर लगाएर खन्नेखोस्रने र पुर्ने काम मात्र भएकाले अहिले सास्ती खेप्नुपरेको हो । योजनाबद्ध र सुरक्षाका प्रविधि उपयोग नगर्दा हरेक वर्षको बजेट खोलामा बगेको छ । बाढी, पहिरोका कारण धेरै सडक बिग्रीएको र अव बनाउने तयारी भएको मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँईले बताउनुभयो । बषौ पहिले बनेका र पछील्ला दुई वर्षमा बनेका सडक बिग्रीएकाले अबको केही दिनमा खुलाईसक्ने उहाँले बताउनुभयो ।