जन्मेको चारघण्टामै पाल्पाबाट हराएको शिशु स्याङ्जामा फेला

जनपत्र
२९ असार २०७६, आईतवार ०६:२२

जन्मेको चारघण्टामै पाल्पाबाट हराएको नवजात शिशु स्याङजाको मिर्मीमा फेला परेको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा जन्मिएको बच्चा चारघण्टामै चोरी भएको थियो । शुक्रबार दिउँसो पाल्पाबाट हराएको बच्चा शनिबार बिहान स्याङ्जाको मिर्मीमा सकुशल फेला परेको हो । शुक्रबार सुत्केरी बेथा लागेर पाल्पा तानसेन ९ की २२ वर्षीया जमुना राना लुम्बिनी मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

जमुनाले शुक्रबार दिउँसो नै छोरालाई जन्म दिएकी थिइन् । नातिलाई जिम्मा लिएकी जमुनाकी आमाले सुत्केरी छोरीलाई ज्वानोको झोल लिनका लागि नातिलाई नै काखमा लिएर क्यान्टिनमा पुगेकी थिइन् । त्यहीबेला सँगै गएकी एकजना महिलाले मैले समातिदिन्छु भनेपछि जमुनाकी आमा ज्वानोको झोल पु¥याउन गएको मौका पारेर स्याङ्जाकी विमकला पाण्डेले लिएर हिँडेकी थिइन् ।

उनी मेडिकल कलेजबाट बाहिरिएर बुटबलबाट पोखरा जाँदै गरेको बसमा चढेकी चढिन् । स्याङ्जाको जिरोमा झरेपछि उनी अर्को जिप लिएर मिर्मी पुगेको अनुसन्धानपछि खुलेको छ । नवजात शिशु हराएपछि मेडिकल कलेजमा हल्ला मच्चिएको थियो ।

कसरी भेटियो त मिर्मीमा ?

रिपोर्टिङमा पुगेका पाल्पा जनचेतना दैनिकका प्रकाशक तथा सम्पादक जगदिश भट्टराईले सीसीटीभी फुटेज हेरेर शंकास्पद महिलाको पहिचान गरेको जानकारी दिएका छन् । बाह्रखरीसँग कुरा गर्दै उनले भने, “मैले सीसीटीभी फुटेज हेरेर शंकास्पद महिलालाई कतै देखेजस्तो लाग्यो । उनका बारेमा बुझ्दै जाँदा गुल्मीमा रहेका आफन्तसहित धेरैजनालाई टेलिफोन गरेपछि एकजना महिलाले बच्चा लिएर मिर्मी पुगेको भन्ने जानकारी पाएपछि म लगायत केही साथिहरु राति मै मिर्मी पुग्यौं ।”

बच्चा चोरी गर्ने विमकला मिर्मीमा रहेको कालीगण्डकी जलविद्युत आयोजना स्थलमा रहेको विद्युत् प्राधिकरणमा सरसफाईको काम गर्ने उनले जानकारी दिए ।

“हामी राति नै मिर्मी पुगेर ती महिलाले बच्चा ल्याएको–नल्याएको भन्ने विषयमा सुक्ष्म अनुसन्धान गर्‍यौं । उनले बच्चालाई ल्याएर तेल लगाएर राम्रोसँग राखेकी छन् तर उनी सुत्केरी होइनन् भन्ने जानकारी पाएपछि मात्रै प्रहरीलाई खबर गर्‍यौं । तर पनि प्रहरी आउन ढिला गर्‍यो । प्रमुख जिल्ला अधिकारीलाई नै खबर गरेपछि प्रहरी आएर विमकलालाई नियन्त्रणमा लियो,”भट्टराईले भने ।

फेला पारेका बच्चा जमुनाकै भएको पुष्टि भएको थियो । उनको हातमा लगाइएको लुम्बिनी मेडिकल कलेजको छापसहितको नाम कायमै रहेकाले बच्चा जमुनाकै भएको पुष्टि भएको थियो । शनिबार बिहान पक्राउ परेकी विमकलालाई पाल्पा ल्याइएको छ । उनको पहिलो श्रीमानतर्फ दुई छोरी रहेका र अर्को श्रीमान् विदेशमा रहेकाले चोरी गरेको प्रारम्भिक बयान दिएकी छन् ।

तस्बिरः शितलपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*