सप्तकोसीमा यो वर्षकै उच्च बहाव, रातो बत्ती बालियो

दुई दिनदेखिको अविरल वर्षाका कारण प्रदेश-२ का विभिन्न जिल्लाका बस्तीहरु डुबानमा परेका छन्। वर्षाका कारण यस प्रदेशका विभिन्न जिल्लाहरुमा घरहरु डुबानमा परी मानिसहरु प्रभावित बनेका छन्।
सप्तकोसी नदीमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ७ हजार २९० क्युसेक छ। वर्षकै उच्च बहाव मापन गरिएपछी कोसी ब्यारेजका २७ वटा ढोका खोलिएको छ। कोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ।
वर्षाका कारण त्रियुगा खोलामा आएको बाढीले खोलाको बाँध नाघेर सप्तकोसी नगरपालिका वडा नम्बर ३ को मुसहर बस्तीका ३५, वडा न. ७ मा चौधरी बस्ती २५ घरमा डेढ फिट पानी जमेको छ। तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीस्थित राजविराजबाट भारतको कुनौली जाने सडक खण्डको खाडो खोलामा बाढी आएपछि सवारीसाधन आवागमन अवरुद्ध भएको छ।