शनिबारसम्म मनसुन सक्रिय हुने, तराईका होचा स्थानमा बाढीको जोखिम

बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश भू-भागमा मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार देशका अधिकांश स्थानमा पूर्ण बदली रही मध्यपूर्वका केही स्थान र पश्चिम क्षेत्रका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ। महाशाखाका अनुसार बिहीबार (दिउँसो र राति) देशका अधिकांश भू-भागमा पूर्ण बदली रहनेछ। धेरै स्थानहरुमा वर्षा हुनुको साथै पश्चिम भेगका केही स्थान र मध्य तथा पूर्वी नेपालका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
शुक्रबार अधिकांश भू–भागमा बदली हुनेछ। देशका पश्चिमी भू–भाग र मध्य तथा पूर्वका धेरै स्थानमा वर्षा र एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार पनि अधिकांश स्थानमा बदली, वर्षा र एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाको अनुमान छ।
देशभरका नदीमा उच्च बाढीको सम्भावना
देशका अधिकांश भू-भागमा बदली र भारी वर्षाको सम्भावना भएकाले सबैजसो नदीहरूमा बाढीको जोखिम उच्च रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बाढीबाट खासगरी प्रदेश १ र २ को तराई क्षत्रे र प्रदेश ५, ६ र ७ को तराईका केही होचा स्थानमा डुबान हुनसक्ने सम्भावना रहेको बताइएको छ। पश्चिम नेपालको बाँके, बर्दिया, कैलाली, कन्चनरुप लगायतका जिल्लाहरूमा मध्यम वर्षा भइरहेकाले बाढीको जोखिम रहेको छ।
चुरेबाट बहने नदीहरू बढ्दो रहेकाले छेउछाउ र होचा स्थान डुबानको जोखिममा रहेका छन्। तीनै दिन कन्काई, सप्तकोसी, तमोर, दधु कोसी, सनु कोसी, कमला र बागमती तथा पूर्व राप्ति जलाधारमा उच्च बहाब हुने सम्भावना रहेको छ। त्यसैगरी मध्य नेपालको प्रदेश १, २ र ३ को चुरे क्षेत्रबाट बहने नदीनालाहरूमा पनि आकस्मिक बाढीको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। देशैभरका पहिरोग्रस्त पहाडी क्षेत्र भएर बहने स–साना खोलाहरूमा पनि लेदो सहित आकस्मिक बहाबको सम्भावना समेत रहेको छ।
सतर्कता अपनाउन आग्रह
देशभर वर्षा र बाढीको सम्भावानाबाट सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। हवाई, सडक र यातयातमा समेत अवरोध आउने भएको हुँदा सतर्कता अपनाउन महाशाखाको आग्रह छ। सुरक्षित बाटोको पहिचान गर्न र विपद् हुनै लाग्दा सहजै जान सकिने गरी तयार हुन तथा पहाडी पहिरोग्रस्त क्षेत्रमा उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ।