अस्ट्रेलियाको नजर नेट रनरेटतिर
अस्ट्रेलियाको ट्वान्टी–२० विश्वकप उपाधि रक्षाको अभियान सोमबार फेरि सही दिशामा फर्केको छ । टोलीले त्यसका लागि गाबामा आयरल्यान्डमाथि ४२ रनको जित रच्यो ।
अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ५ विकेटमा बनाएको १ सय ७९ रनलाई पछ्याएको आयरल्यान्डले १९ औं ओभरमा अलआउट हुनुअघि १ सय ३७ रनमात्र बनाउन सक्यो । यो जितपछि अस्ट्रेलियाको ५ अंक भएको छ । यति नै अंकमा शीर्षस्थानको न्युजिल्यान्ड पनि छ ।
ग्रुप–१ मा न्युजिल्यान्डले एक खेल कम खेलेको छ । इंग्ल्यान्ड २ अंक पछाडि रहँदै तेस्रो स्थानमा छ । मंगलबार इंग्ल्यान्डले न्युजिल्यान्डको सामना गर्नेछ । इंग्ल्यान्डको ‘नेट रनरेट’ अस्ट्रेलियाको तुलनामा राम्रो छ र यो नै यस कठिन समूहबाट सेमिफाइनल पुग्ने दुई टिमको निर्णयका लागि निर्णायक हुन सक्नेछ । त्यसैले पनि नेट रनरेटप्रति अस्ट्रेलियाको नजर रहनेछ । आयरल्यान्ड ३ अंकमा छ । आयरल्यान्डको पनि सेमिफाइनल पुग्ने झिनो सम्भावना कायमै छ ।
माइकल स्टार्कको ‘पेस’ र ‘स्विङ’ तथा १ सय ८० रनको लक्ष्यको बोझले थिचिएको आयरल्यान्डले ब्याटबाट राम्रो भने गर्न सकेन । एक समय ५ विकेट गुमाएर २५ रनको नाजुक मोडमा पुगिसकेको आयरल्यान्डले त्यही कारण आयोजक देशलाई सजिलो जित दिलायो । त्यसमा लोर्कन टकरले नटआउट ७१ रन बनाए, तर त्यसले खेलमा फरक पार्न सकेन । अस्ट्रेलियाली कप्तान आरोन फिन्चले प्लेयर अफ द म्याच जिते । उनले ६३ रन बनाए । फिन्चले गाबामा रन बनाउन सजिलो नभएको प्रतिक्रिया दिए । उनले भने, ‘पिच सजिलो थिएन । अपेक्षाभन्दा बल सुस्त गतिले आइरहेको थियो ।आयरल्यान्डले पेस नियन्त्रणमा राखेर बलिङ गरेको थियो । सुरुमा तिनीहरूले धेरै कटर फाले । त्यसैले लयमा रहेर ब्याटिङ गर्न गाह्रो थियो । यस्तोमा १ सय ७९ रन बनाउनु राम्रै साबित भयो ।’ उनले ४४ बल सामना गर्दा ५ चौका र ३ छक्का प्रहार गरे ।
यसअगाडि खराब लयबाट गुज्रिरहेका फिन्चलाई यो खेलमा नखेलाउनुपर्ने माग रहेको थियो, तर उत्कृष्ट प्रदर्शन गर्दै उनले त्यसको सटिक जवाफ दिए । उनले आफू आलोचनाले धेरै दबाबमा नआएको माने । उनले भने, ‘होइन, इमान्दारितापूर्वक भन्छु, म पक्कै पनि दबाबमा थिइनँ । खेलाडी र सहयोगीबाट मैले पर्याप्त समर्थन पाएको छु । ट्वान्टी–२० क्रिकेट निकै जोखिमयुक्त छ, यसमा कहिले जितिन्छ, कहिले हारिन्छ ।’ सुरुआती तीन विकेट गुमाएपछि समस्यामा देखिएको अस्ट्रेलियाका लागि उनले संयमित भएर खेले । मार्कस स्टोइनिसले उनलाई बलियो साथ दिए । उनले २५ बलमा ३५ रन बनाए । आयरल्यान्डले सुरुमै केही राम्रो गर्न खोजे पनि कप्तान एन्डी बालबिरेन भने प्याट कमिन्सको बलमा दोस्रो ओभरमै आउट भएपछि धक्का लागेको थियो । लगत्तै पाउल स्टर्लिङ पनि ग्लेन म्याक्सवेलको सिकार भए । म्याक्सवेलले ह्यारी टेक्टरलाई पनि आउट पारेपछि खेल न्युजिल्यान्डको पकडबाट बाहिरिएको थियो ।






