आत्महत्या गर्न ४ छोराछोरीसहित सप्तकोसीमा हामफालेकी महिलाको खुल्यो पहिचान

जनपत्र
२२ असार २०७६, आईतवार ०६:४९

छोराछोरीसहित आत्महत्या गर्न सप्तकोसी नदीमा हामफालेकी महिलाको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्र मिश्रका अनुसार नदिमा हामफाल्ने सिरहाको गोलबजार नगरपालिका–८ की ३५ वर्षीया रुक्सना खातुन हुन्। उनी ३ छोरा र १ छोरीसहित शुक्रबार साँझ कोशी नदिमा हामफालेकी थिईन्।

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोसी ब्यारेजमा शुक्रबार साँझ करिब ८ बजे हामफालेका मध्ये रुक्सनालाई शनिबार बिहान प्रहरी र स्थानीय माझीको सहयोगमा उद्धार गरिएको हो। ४ छोराछोरीमध्ये ५ वर्षीय मो. तहसिललाई भने शुक्रबार साँझ उद्धार गरिएको थियो।

बालकको पुल नजिकै र महिलाको पुलबाट करिब ४ किलोमिटर तल पलार भन्ने स्थानबाट बेहोस अवस्थामा उद्धार गरिएको मिश्रले बताए। रुकसनाका हराईरहेका अन्य २ छोरा र एक छोरीको खोजी भईरहेको उनको भनाई छ। भेटिएका दुवैको स्थानीय भारदह अस्पतालमा उपचार भइरहको छ।

रुक्सनाका पति मो. तैयवसहित परिवारका सदस्य प्रहरी र गोताखोरको टोलीले वेपत्ताको खोजी गरीरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ। सप्तकोशी नदीमा पानीको बहाब वढेकाले खोजीमा समस्या भएको डिएसपी मिश्रले जानकारी दिए।

महिलाले ४ जना छोराछोरीसहित आत्महत्या गर्न खोज्नुको कारण भने हालसम्म नखुलेको प्रहरीले जनाएको छ। ‘हामीले रुक्सनालाई सोध्ने प्रयास गर्यौ, तर उनी भक्कानिएर रुन थालेपछि अहिलेलाई त्यो योजना छोडियो,’ उनले भने, ‘पति र परिवारले घरमा त्यस्तो कुनै झगडा र असामान्य अवस्था नरहेको बताएका छन्, थप कुरा अनुसन्धानपछि नै भन्न सकिन्छ।’प्रहरीले बेपत्ताको उद्धारलाई प्राथमिकता दिएको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*