आप्पा : सम्बन्धको फिक्का प्रस्तुति [फिल्म समीक्षा]

गत शुक्रबारबाट हलमा प्रदर्शनरत छ, दार्जिलिङका नेपालीभाषीले दार्जिलिङकै परिवेशमा निर्माण गरेको फिल्म– ‘आप्पा’। फिल्मले बोकेको कथा हो, बाबु–छोराबीचको सम्बन्ध। अधिकांश नेपाली फिल्ममेकर सस्ता कमेडी र फर्मुला फिल्ममा रमाइरहेका बेला दार्जिलिङबासी नेपालीले ल्याएको यो कन्सेप्ट नेपाली दर्शकका लागि पक्कै पृथक हो। तर, विश्वका सिनेमासँग परिचित दर्शकका लागि पूरै नौलोचाँहि होइन।
तैपनि आशा थियो, नेपाली दर्शकका लागि दार्जिलिङबाट आएको यो उपहार पक्कै स्वादिलो हुनेछ। तर, फिल्म हेरेपछि निराशा व्यहोर्नु पर्यो। नेपाली फिल्मको उही पुरानै रोग अर्थात् कमजोर पटकथाको समस्या यो फिल्ममा पनि देखियो। फिल्ममार्फत् निर्देशकले देखाउन खोजेका छन्, बाबु–छोराबीचको भावनात्मक सम्बन्ध। तर, पटकथामा मेहनत नपुग्दा फिल्म फिक्का भइदिएको छ। दर्शकले बाबु–छोराको सम्बन्धको मूल मर्मलाई नै महशुस गर्न पाउँदैनन्।
फिल्मको कथा सरल छ। फिल्मभित्र मनको सफा र सोझो एउटा प्रमुख पात्र छ, बिर्खे (दयाहाङ राई)। जो दार्जिलिङमा गाडी कुदाउँछ। खासगरी पर्यटक घुमाउँछ। उसको एउटै समस्या– ट्वाक (रक्सी) लाइरहनुपर्ने। रेलवे स्टेसनमा पर्यटकको खोजी गरिरहँदा एकदिन उसले भेट्छ एउटा बंगाली परिवार। सनकपुर घुमाउने क्रममा उसको गाडी दुर्घटनामा पर्छ। सबै मर्छन्, शिवाय बिर्खे र एउटा बालक (सिद्दार्थ)। अरु बच्चाले उनीहरूको बुबालाई ‘आप्पा’ बोलाएको सुनेर त्यो बालकले एकदिन बिर्खेलाई पनि ‘आप्पा’ भनेर बोलाउँछ।
त्यसपछि बिर्खेले बालकको आफैं स्याहारसुसार गर्ने निर्णय गर्छ। स्कुलमा पढाउन लैजाँदा फादर (तुलसी घिमिरे)ले सर्त राख्छन्, १२ कक्षा पास नहुँदासम्म बच्चालाई भेट्न पाउँदैनस्।’ मनले त मानेको हुँदैन तर बच्चाको भविष्य सम्झेर उनी सर्त मान्न तयार हुन्छन्। बच्चामा बिर्खेलाई ‘आप्पा’ अर्थात् बुबा मान्न तयार सिद्दार्थ ठूलो भएपछि स्वीकार्न तयार हुन्छ कि हुँदैन? या, आफ्नै परिवारको दुर्घटना गराउने अपराधी ठान्छ? फिल्मको कथा यिनै दुई पात्रको कथा भन्दै टुंगिन्छ।
बजारिया प्रभावबाट मुक्त भएर कथा भन्न खोज्नु फिल्मका निर्देशक अनमोल गुरुङको प्रशंसनीय पक्ष हो। तर, पर्याप्त मेहनत नपुग्दा उनको यो प्रयास खल्लो हुन पुगेको छ। बिर्खे र सिद्धार्थबीचको सम्बन्धलाई गहिरोसँग स्थापित गर्न नसक्नु उनको सबैभन्दा ठूलो कमजोरी हो। १२ कक्षा पढ्दासम्म बिर्खेले सिद्धार्थलाई भेट्न त पाउँदैन। तर, भेट्नका लागि तड्पिएका दृश्य खोइ? छोरालाई आप्पा र आप्पालाई छोराको अभाव महशुस गराउने दृश्य खोइ? निर्देशकलाई प्रश्न गर्न मन लाग्छ।
झन् दोश्रो हाफमा त निर्देशक फिल्मको मूल कथाबाट पूरै बहकिएका छन्। कलेजमा काब्या (अलोना कबो लेप्चा)सँग प्रेम देखाउन खोज्दा उता दर्शकले बिर्खेलाई बिर्सिसक्छन्। एकातिर बाबु–छोराबीचको सम्बन्धमा प्रेम र संवेदनाको अभाव भइरहेका बेला उता काब्यासँगको प्रेम पनि स्थापित हुन सकेको छैन। निर्देशकले न प्रेम स्थापित गर्न पर्याप्त दृश्य खर्चिएका छन्, न काब्यासँग ब्रेकअप हुनै लाग्दा सिद्धार्थमा देखिएको तड्पन नै विश्वसनीय लाग्छ। बाबु–छोराको सम्बन्धबाट निर्देशक एकाएक प्रेमी–प्रेमिकातिर बहकिँदा फिल्म झन् कमजोर हुन पुगेको छ्। कलेजमा आयोजित गायन कार्यक्रमको दृश्य उस्तै झर्कोलाग्दो छ।
फिल्ममा एउटा दृश्य छ, जहाँ सिद्धार्थ आफ्नो आप्पाको नाममा आँखाभरि आँसु पार्दै भावुक सम्बोधन गरिरहेका हुन्छन्। तर, पात्रको भावुक सम्बोधन हेरेर दर्शक भावुक बन्दैनन्, बरु गलल हाँस्छन्। यो निर्देशकको सबैभन्दा ठूलो असफलता हो।प्राविधिक पाटोमा भने फिल्म केही हदसम्म अब्बल देखिन्छ। सिनेमाटोग्राफर शैलेन्द्र डि. कार्कीले दार्जिलिङको स्थानीय परिवेशलाई आफ्नो क्यामेरामा सुन्दर ढंगले कैद गरेका छन्। स्थानीय लवजले दर्शकमा मौलिक स्वाद महशुस गराउँछ।
निर्देशकका रुपमा कमजोर देखिएका अनमोल सांगीतिक पाटोबाट बलिया देखिन्छन्। फिल्ममा रहेको ‘साँझ परेपछि’, ‘हावा सरर’ लगायतका गीत श्रुतिमधुर छन्। कथाले ‘बोर’ दर्शकलाई गीतले भने राहत दिन्छन्। ‘आप्पा’का चरित्रमा अभिनेता दयाहाङ राई ‘फिट’ देखिन्छन्। धेरैपछि उनको अभिनयमा दर्शकले विविधता महशुस गर्न पाउँछन्। सिद्धार्थको भूमिका निर्वाह गरेका सिद्धान्तराज तामाङले अभिनयमा धेरै मेहनत गर्नुपर्ने देखिन्छ।
कतै–कतै त उनको अभिनय पूरै नाटकीय लाग्छ। सिद्धान्तको तुलनामा अलोनाको अभिनय अभिनय ठिकै लाग्छ तर पर्फेक्ट होइन। फादरको भूमिकामा तुलसी घिमिरे ठीकै लाग्छन् तर खास होइन। बरु अरुणा कार्की आफ्नो भूमिकामा स्वभाविक देखिएकी छन्।
बाबु–छोराको सम्बन्धको कथा ठानेर फिल्म हेर्न जाने दर्शकको मन ‘आप्पा’ले खुस बनाउँदैन। तर, दार्जिलिङको उपहार कस्तो रहेछ, एकपटक हेरिदिऊँ न त’ भनेर जाने हो भने त ठिकै छ।
नेपाल लाईभबाट