केन्याविरुद्धको सिरिज आफ्नो पक्षमा पार्न आज जित्नैपर्ने दबाबमा नेपाल
केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज टी–२० सिरिजको पाँचौं म्याच खेल्दैछ । नेपाल र केन्याबीचको निर्णायक खेल अपरान्ह ३ः४५ देखि नैरोबीस्थित जिमखाना मैदानमा सुरु हुनेछ ।
जारी सिरिज २–२ को अवस्थामा छ । आजको खेल जित्ने टोलीले सिरिज आफ्नो पक्षमा पार्नेछ । चौथो खेलमा केन्याले दिएको १०२ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपालले एक खेल अगावै सिरिज जित्ने मौका गुमायो ।
आज सो हारको बदला लिँदै नेपाल सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ । केन्या घरेलु मैदानको फाइदा उठाउँदै नेपालविरुद्धको सिरिज जित्ने लक्ष्यमा छ ।
पहिलो खेलमा ५ विकेटले पराजित भए पनि केन्याले दोस्रो खेलमा १८ रनको जित हात पार्यो । तेस्रो खेलमा भने ऊ ४ विकेटले पराजित भयो । तर, चौथो खेलमा केन्याले बलिङबाट उत्कृष्ट कमब्याक गरेको छ ।






