‘धड्कन २’मा काम गर्न तयार अरुणिमा !

जनपत्र
१८ असार २०७९, शनिबार ०७:४०

एक समय नेपाली फिल्ममा आफूलाई बलियो रुपमा उभ्याएकी अरुणिमा लम्सालको करिअरको सबैभन्दा सफल फिल्ममध्ये पर्छ, ‘धड्कन’ । नरेश पौडेलको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्मले अरुणिमाको करिअरलाई नयाँ उचाईं दिलाएको थियो । फिल्ममा उनको जोडी अभिनेता निखिल उप्रेतीसँग बाँधिएको थियो भने रेखा थापा र रमित ढुंगाना पनि मुख्य भूमिकामा थिए ।

सन् २००४ मा प्रदर्शन भएको यो फिल्मको अब सिक्वेल निर्माणको तयारीमा छन् निर्देशक पौडेल । यतिबेला उनी मौनता श्रेष्ठसँग स्क्रिप्ट लेखनमा व्यस्त छन् । फिल्ममा पुराना कलाकार दोहोर्‍याउने वा नयाँ लिने भन्नेमा उनले निर्णय गरिसकेका छैनन् । निर्देशक पौडेलले पुरानै कलाकार दोहोर्‍याउन चाहेको अवस्थामा पनि यतिबेला ‘धड्कन’का सम्पूर्ण कलाकारहरु नेपालमै उपलब्ध छन् ।

निखिल, रमित र रेखा नेपालमै बस्दै आएका छन् भने अरुणिमा ८ वर्षपछि यसै साता अमेरिकाबाट नेपाल आएकी छन् । नेपाल आए लगत्तै उनले ‘धड्कन’ अभिनेत्री रेखासँग भेट पनि गरिसकेकी छन् । बुधवार किरण केसीको जन्मदिन सेलिब्रेसनमा पुगेकी उनले ‘धड्कन २’मा काम गर्न तयार रहेको संकेत गरिन् । तर, त्यसका लागि उमेर सुहाउँदा क्यारेक्टर हुनुपर्ने उनको भनाई छ ।

दुई महिनाका लागि नेपाल आएकी उनले सञ्चारकर्मीसँग भनिन्, ‘फिल्मको स्टोरीअनुसार क्यारेक्टमा हामी फिट भयौं भने अवश्य पनि काम गर्नेछौं । नरेश पौडेल दाईले टिनएजरको लभस्टोरीमा फिल्म बनाउँछु भन्नु भयो भने हामीले काम गर्ने कुरा पनि आउँदैन । परिपक्व लभस्टोरी भयो भने चाहिँ म अभिनय गर्न तयार छु ।’ उनले अब आफू टिनएजर लभस्टोरीमा काम नगर्ने बताएकी छन् ।

उमेर र पर्सनालिटीलाई सुहाउने सम्झनलायक क्यारेक्टरबाट फिल्ममा कमब्याक गर्न तयार रहेको उनको भनाई छ । अरुणिमाले ८ वर्षदेखि अमेरिकामा बस्दै आएको भए पनि फिल्मको एक्सन(कट कहिल्यै विर्सन नसकेको बताएकी छन् । उनी भन्छिन्, ‘कुनै पनि कुरा मिस गर्न विर्सनु पर्छ तर मैले एक्सन(कट कहिल्यै विर्सिइनँ । मेरो मन(मस्तिष्कमा एक्सन(कट सदा जीवित रहनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*