अभिनेत्री दीया पुनले चढिन् सगरमाथा
अभिनेत्री दीया पुनले संसारकै अग्लो शिखर सगरमाथाको आरोहण गरेकी छन् । उनले शुक्रवार बिहान ८,८४८.८६ मिटर उचाईंको सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् । उनीसहित २० जनाको टोलीले एकसाथ सगरमाथा चढेको हो । सगरमाथामा दीयाले राष्ट्रिय झन्डा फहराएकी थिइन् । सगरमाथा आरोहणपछि उनीसहितको टोली सुरक्षित रुपमा साउथ कोलमा फर्किसकेको छ ।
बेलायतमा अवस्थित राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस० च्यारिटी टुगेदर, कोलचेष्टर अस्पताल च्यारिटी र नेपालस्थित चिल्ड्रेन एण्ड युथ फर्स्टलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले दीयाले सगरमाथाको आरोहण गरेकी हुन् । लामो समयदेखि परिवारसँग बेलायतमा बस्दै आएकी उनको सगरमाथा चढ्न करीब ४० लाख खर्च भएको छ । उनी बेलायतमा नर्सिङ पेशामा आबद्ध छिन् ।
दीया पुनले यसअघि नेपालको मनास्लु हिमाल र अर्जेन्टिनामा अवस्थित ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवाको पनि आरोहण गरिसकेकी छन् । ‘वीर विक्रम’बाट अभिनेत्रीको रुपमा सुखद् डेब्यू गरेकी उनले ‘मिस्टर झोले’, ‘दयारानी’ लगायतका फिल्ममा पनि अभिनय गरेकी छन् । उनले अभिनय गरेको नयाँ फिल्म ‘मन्त्र’ यस वर्षको बैशाख १६ गते प्रदर्शन भएको थियो ।







