अनमोलको स्वघोषणा : ‘म इन्डस्ट्रीको रियल प्लेयर’
अभिनेता अनमोल केसीका हरेक फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा हुन्छ । उनको एक झल्को हेर्नका लागि मात्रै भएपनि हल पुग्ने दर्शकको संख्या ठूलो छ । उनै, अनमोलले अभिनय गरेको आठौं फिल्म ‘ए मेरो हजुर ४’ यतिबेला प्रदर्शनरत छ । साउथको ठूलो फिल्म ‘केजीएफ २’को हालीमुहालीबीच सुखद् व्यापार गरिरहेको फिल्मले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।
‘केजीएफ २’को सुनामी व्यापारबीच पनि फिल्मलाई दर्शकले साथ दिएपछि अनमोल आफूले जितेको महशुस गरिरहेका छन् । शनिवार दर्शक प्रतिक्रिया बुझ्न राजधानीका विभिन्न हलहरुमा पुग्ने क्रममा उनले गोलकिप्पर भएको पोस्टमा गोल हान्ने नै विजेता हुने बताए । ‘खाली पोस्टमा त जसले नी गोल हान्छ । गोलकिप्पर भएको पोस्टमा जसले गोल हान्छ उही हो विजेता,’ उनले भने ।
साउथ सुपरस्टार यश गोलकिप्पर रहेको पोस्टमा आफूले गोल हान्न सफल भएको आशय अनमोलको थियो । पत्रकारले उनलाई प्रतिप्रश्न गरे, ‘त्यसो भए तपाईं फिल्म इन्डस्ट्रीको रियल प्लेयर हो रु’ जवाफमा उनले स्टारडमको घमन्ड मिश्रित आवाजमा भने( ‘एकदमै ।’ विदेशी फिल्मसँग भिड्न आफूहरुलाई चुनौती भएपनि दर्शकको साथले यो जित सम्भव भएको अनमोलको भनाई छ ।
यसपटक नेपाली फिल्मले वास्तवमै प्रतिस्पर्धा गरेको पनि अनमोल बताउँछन् । उनी भन्छन्, ‘पहिला नेपाली फिल्मसँग जुध्दा त्यो प्रतिस्पर्धा थिएन । प्रतिस्पर्धा अहिले भइरहेको छ । र, यो प्रतिस्पर्धामा दर्शकहरुले साथ दिँदा जितेको महशुस भइरहेको छ ।’ फिल्म राम्रो बनेको छ भने दर्शकले नेपाली फिल्मलाई नै साथ दिने र यसपटक यो प्रमाणित भएकोमा अनमोलले खुसी व्यक्त गरे । फिल्मीखबरबाट







