र्याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ मंगलबारदेखि प्रसारण हुने
काठमाडौं । हिपहप र र्याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’ मंगलबारदेखि प्रसारण हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रत्येक मंगलबार र बुधबार राति ८ देखि ९ बजेसम्म इमेज च्यानलमा कार्यक्रम प्रसारण हुने जानकारी दिइएको हो ।
यो शोको यसै साता ग्राण्ड ओपनिङ सम्पन्न भइसकेको छ । पोखरा अडिसनबाट सुरु गरिने शोमा काठमाडौं, पोखरा, बुटवल, चितवन र इटहरी अडिसनबाट छानिएका १२३ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
अडिसन राउन्ड सकिएपछि टपिक र ब्याटल राउन्ड हुनेछ । शोको विजेतालाई १० लाख र दोस्रो हुनेलाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । साथै उनीहरुले वर्ल्ड टुर पनि गर्न पाउने आयोजकले जनाएको छ ।







