पूजालाई प्रेमीको साथ, देश दौडाहा एकसाथ

जनपत्र
२२ फाल्गुन २०७८, आईतवार १५:३९

अभिनेत्री पूजा शर्मा र विवाद एकअर्काका पर्याय जस्तै हुन् । पूजा जे बोल्छिन्, विवाद नै हुन्छ । घाँटीमा आएको कुरालाई फिल्टर गरेर बोल्न नसक्नु नै उनको सबैभन्दा ठूलो कमजोरी बन्ने गरेको छ । कलाकार भएपछि के कुरा बोल्ने र कुन कुरा गर्भमै राख्ने भन्ने हेक्का हुनुपर्छ । तर, पूजा यो मामलामा कमजोर छिन् । संवेदनशील विषयमा समेत उनी गैह्रजिम्मेवार तर्क दिँदै हिँड्ने गर्छिन् ।

गत साता आफू अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ को माहोल बुझ्न हल-हलमा जाने क्रममा उनले बलात्कारको परिभाषा नै आफूले नबुझेको अभिव्यक्ति दिइन् । बलात्कारको आरोप लागेका अभिनेता पल शाहको बचाउमा उनले नाबालिगको चरित्रमाथि समेत प्रश्न उठाएकी थिइन् । जसले गर्दा उनको व्यापक आलोचना र विरोध भयो । यसपछि उनलेले आफ्नो बोली सच्याएकी छन् ।

गत बुधवार पल शाहलाई भेट गर्न दमौली प्रहरी कार्यालय पुगेकी पूजा त्यतैबाट फिल्म ‘म यस्तो गीत गाउँछु २’ को माहोल बुझ्न देश दौडाहामा निस्किएकी छिन् । पोखरा, हेटौंडा र चितवन हुँदै उनी विरगञ्ज पुगेकी छन् । उनको साथमा निर्देशक सुदर्शन थापा, कलाकार गणेश गिरी, शोभित बस्नेतसँगै प्रेमी युद्ध बानियाँ पनि छन् । काठमाडौंदेखि नै युद्धले पूजाको साथ छाडेका छैनन् ।

युद्ध र पूजाको प्रेम सम्बन्धको चर्चा चल्न थालेको लामै समय भइसकेको छ । तर, उनीहरुले खुलेरै प्रेम सम्बन्ध भने अझै स्वीकार गरिसकेका छैनन् । तर, फिल्म क्षेत्रमा उनीहरुले बिहे नै गरिसकेको समेत चर्चा चलिरहेको छ । गहुँगोरो अनुहार र खाइलाग्दो ज्यानका युद्ध फिल्मी हिरोभन्दा कम छैनन् । पूजासँग नाम जोडिएपछि मिडियामा चर्चाको केन्द्रमा रहेका उनी हेटौंडाबासी हुन् ।

शनिवार चितवनका हलहरुमा दर्शकसँग भेट गर्ने क्रममा पूजासँगै युद्धसँग पनि सेल्फी खिच्नेहरुको भीड लागेको थियो । धेरैले उनलाई अभिनेता आकाश श्रेष्ठ सम्झिएको जानकारी प्राप्त छ । युद्धले पनि सेल्फी खिच्न आउनेहरुलाई निराश बनाएनन् । पूजालाई हरेक समस्यामा छायाँझैं साथ दिँदै आइरहेका युद्ध ‘म यस्तो गीत गाउँछु २’ को सफलताबाट पूजाभन्दा पनि खुसी देखिएका छन् ।

पूजा र युद्धको चिनचान गत फागुन महिनामा भएको हो । पूजाकै दिदीहरुको माध्यमबाट उनको युद्धसँग भेटघाट भएको थियो । जिममा प्रयोग हुने प्रोटिन लगायतका सामाग्रीको व्यापार गर्दै आएका युद्ध ललितपुरको सातदोबाटोमा बस्दै आएका छन् भने पूजाले पनि त्यही क्षेत्रमा घर बनाएकी छन् । केही समय युद्धलाई मिडियाबाट लुकाउँदै आएकी पूजा अब भने खुल्न थालेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*