‘म यस्तो गीत गाउँछु २’ ले हलमा फर्कायो दर्शक

जनपत्र
१६ फाल्गुन २०७८, सोमबार ०९:२२

कोरोना महामारीयता हलमा नेपाली फिल्मले नै दर्शकको उत्साहजनक भीड फर्काउन सकेको थिएन । गत पुषमा प्रदर्शन भएको फिल्म ‘कठपुतली’ लाई छाड्ने हो भने अरु फिल्म हलमा लागेको र उत्रिएको समेत दर्शकलाई थाहा भएन । तर, शुक्रवारबाट प्रदर्शनरत फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले भने बक्सअफिस तताएको छ । शनिवार फिल्मले देशभर आक्रामक कमाई गर्‍यो ।

शुक्रबार करीब ६० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मले शनिवार देशभर हाउसफुलको व्यापार गरेको वितरक करण श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार, कोरोना महामारीपछि प्रदर्शन भएका फिल्ममध्ये ‘म यस्तो गीत गाउँछु २’ ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । शनिबार सिंगल थिएटर तथा मल्टिप्लेक्स दुवैतिर फिल्मको व्यापार आक्रामक रहेको करणको भनाई छ ।

शनिवार अभिनेत्री पूजा शर्मा, कलाकार दिनेश डिसी, निर्देशक तथा निर्माता सुदर्शन थापा लगायत राजधानीका विभिन्न हलहरुमा पुग्दा दर्शकहरुको ठूलो भीड देखिएको थियो । पल शाहको पक्षमा दर्शकहरुले नाराबाजी समेत गरेका थिए । अहिले पल कानुनी झमेलामा छन् । जसले गर्दा उनी हल जान सकेनन् । उनको तर्फबाट हलमा पुगेका दर्शकहरुलाई पूजाले धन्यवाद दिएकी थिइन् ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा हरिहर शर्मा, पल शाह, पूजा शर्मा, दिनेश डिसी, गणेश गिरी, सोनिका रोकाय लगायतको अभिनय रहेको छ । एक स्टार गायक र एक नवोदित गायिकाबीचको प्रेम सम्बन्धको कथा वाचन गरेको फिल्मलाई सञ्जय लामाले खिचेका छन् । फिल्मले मंगलवार परेको महाशिवरात्रीको विदामा पनि आक्रामक कमाई गर्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*