एटलीको फिल्मका लागि अल्लू अर्जुनलाई सय करोड अफर
फिल्म ‘पुष्पा स् द राइज’ को सफलतापछि सुपरस्टार अल्लू अर्जुनको करिअर उत्कर्षमा पुगेको छ । अहिले उनलाई आकर्षक पारिश्रमिकसहित ठूला फिल्मबाट अफर आइरहेको छ । उनको लोकप्रियतालाई मध्यनजर गर्दै साउथको ठूलो प्रोडक्सन कम्पनी लायकाले पनि फिल्मको प्रस्ताव गरेको छ । उनलाई सय करोड पारिश्रमिकसहित फिल्म अफर भएको कोइमोइले जनाएको छ ।
लायकाको नयाँ फिल्मलाई एटलीले निर्देशन गर्नेछन् । अल्लू अर्जुन एक अब्बल दर्जाका कलाकार हुन् भने एटली साउथको सफल निर्देशकको रुपमा चिनिन्छन् । एटलीले ‘थेरी, मेर्सल, बिगिल’ जस्ता ब्लकबस्टर फिल्मको निर्देशन गरिसकेका छन् । यसकारण उनीहरुबीचको सहकार्य उत्कृष्ट सावित हुने अनुमान गरिएको छ । तर, अल्लू अर्जुनले फिल्ममा काम गर्ने पक्का भइसकेको छैन ।
रश्मिका मन्दानाको पनि मुख्य भूमिका रहेको ‘पुष्पा’ ले बक्सअफिसमा आक्रामक कमाई गर्दै कयौं फिल्मको रेकर्ड तोडेको छ । हिन्दी भाषामा मात्र फिल्मले ९० करोडमाथिको कमाई गरेको छ । रक्त चन्दन तस्करी कथामा बनेको फिल्ममा अल्लू अर्जुनको स्टाइल र एक्सनलाई दर्शकले निकै रुचाएका छन् । सुकुमार निर्देशित फिल्मले नेपालमा समेत आक्रामक कमाई गरेको थियो ।







