आफ्नो मेहनतको कमाईका लागि पनि भिख माग्नु पर्छ : परमिता
नेपाली फिल्म क्षेत्रमा कलाकारले आफ्नो मेहनतको पारिश्रमिक नपाएको गुनासो बेला-बेला सुन्नमा आउने गरेका छन् । हालै फिल्म ‘चपली हाइट ३’ का कलाकार अमिर गौतमले जाडोको मौसममा पानीले रुझेर काम गरेको फिल्मबाट पनि पारिश्रमिक नपाएको गुनासो पोखेका थिए । नेपालमा प्रायः कलाकारले फिल्म रिलिजको वर्षौंसम्म आफ्नो पारिश्रमिक नपाएका कयैन् उदाहरण छन् ।
अभिनेत्री परमिता आरएल राणा पनि आफ्नो मेहनतको पारिश्रमिक नपाएर आजित भएकी रहेछिन् । उनले सोमवार इन्स्टाग्राममा अभिनय र मोडलिङमा ढिला गरी पाउने पारिश्रमिकबाट आफू विरामी भएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘आफ्नो मेहनतको कमाईका लागि भिख माग्नु पर्छ । मैले अहिलेसम्म गरेका मोडलिङ र अभिनयमा ढिला गरी पारिश्रमिक पाएको छु ।’
उनले अबदेखि समयमा भुक्तानी नगर्ने व्यक्तिको नाम सार्वजनिक गर्ने चेतावनी समेत दिएकी छन् । उनी अगाडि लेख्छिन्, ‘नाम सार्वजनिक गर्नु दुःखको कुरा हो तर अब यही एउटा विकल्प छ । जो व्यक्ति नेपालमा मोडलिङ र अभिनय गर्न चाहन्छन्, कृपया यसका लागि मानसिक रुपमा तयार हुनुहोला । एक पटक मलाई एक फिल्मको पूरा पारिश्रमिक पाउन एक वर्ष लागेको थियो ।’
फिल्म ‘चपली हाइट २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी परमिता आरएल राणाले ‘रोज, कर्मा, चंगा चेट’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् । तिहारअघि उनले नेपालमा खिचिएको बलिउड फिल्म ‘उचाइँ’ मा पनि अभिनय गरेकी थिइन् । प्रायः प्रेम प्रशंंगका कारण चर्चामा आउने गरेकी उनको फिल्मी करिअर भने सुखद छैन । उनी अभिनीत प्रायः फिल्म असफल छन् ।







