‘चपली हाइट ३’ का कलाकारले पाएनन् पारिश्रमिक !

जनपत्र
१० पुष २०७८, शनिबार ०६:३०

नेपालमा कलाकारहरुले तीन चरणमा पारिश्रमिक पाउने गरेका छन् । फिल्म साइन गरेपछि पहिलो चरणको, छायांकन सकिएपछि दोस्रो चरणको र डबिङ सकिएपछि अन्तिम चरणको पारिश्रमिक पाउँछन् । तर, प्रायः कलाकारहरुले पहिलो चरणबाहेक अरु पारिश्रमिक पाउन निर्मातासँग युद्ध नै लड्नु पर्छ । पारिश्रमिक लेनदेनको विषयले निर्माता र कलाकारबीच बोलचाल समेत हुँदैन ।

नेपाली फिल्म क्षेत्रमा कलाकारहरुले पारिश्रमिक नपाएको खबर प्रायः सुन्नमा आइरहन्छ । तीन वर्ष अगाडि फिल्म ‘रोज’ बाट पूरा पारिश्रमिक नपाएको भन्दै अभिनेता प्रदीप खड्का, अभिनेत्री परमिता आरएल राणा कानुनी उपचारमा समेत जाने तयारीमा थिए । त्यस्तै, फिल्म ‘क्याप्टेन’ मा काम गरेको पारिश्रमिक नपाएपछि कलाकार राजाराम पौडेलले पनि मिडियामा गुनासो पोखेका थिए ।

यही पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ को टिमभित्र पनि पारिश्रमिकलाई लिएर लफडा सुरु भएको छ । केही समय अगाडि अभिनेत्री स्वस्तिमा खड्का र निर्माता अर्जुन कुमारबीच पारिश्रमिक लेनदेनको विषयमा ठूलो मनमुटाव भएको खबर बाहिरिएको थियो । तर, अहिलेसम्म स्वस्तिमाले निर्माताबाट पारिश्रमिक नपाएको भनेर मिडियामा बोलेकी छैनन् ।

‘चपली हाइट ३’ का अर्का कलाकार अमिर गौतमले भने फेसबुकमा एक स्टाटस लेख्दै पारिश्रमिक नपाएको गुनासो पोखेका छन् । उनले लेखेका छन्, ‘तीन दिन जाडोमा भिजेर सुटिङ सकाएको फिल्मको पैसा त आउँदैन भने अरुको के होला रु’ उनले कुन फिल्मबाट पारिश्रमिक नपाएको स्पष्ट नखुलाए पनि जाडोमा सुटिङ गरेको फिल्म भनेर ‘चपली हाइट ३’ प्रति इंकित गरेका छन् ।

यो फिल्मको छायांकन जाडोको मौसममा भएको थियो । २०७६ सालको कठ्याग्रिँदो जाडोमा तीन दिनसम्म अमिरसहित स्वस्तिमा खड्का लगायतले पानीमा भिजेर फिल्मका लागि महत्त्वपूर्ण सिन दिएका थिए । यसका लागि निर्माण टिमले केही थान ट्याङकरमा पानी मगाएको थियो । यही कारण अमिर गौतमले ‘जाडोमा भिजेर सुटिङ सकाएको फिल्म’ भनेर स्टाटसमा उल्लेख गरेका हुन् ।

प्राप्त जानकारी अनुसार, निर्माता अर्जुन कुमारसँग अमिरले विश्वासको आधारमा यो फिल्ममा काम गरेका हुन् । उनीहरु दुवै मिल्ने साथी हुन् । अर्जुनले निर्माण गरेका फिल्म ‘फाटेको जुत्ता, चपली हाइट’ मा पनि उनले विश्वासको आधारमा काम गरेका थिए । तर, यसपटक उनले आफ्नो पारिश्रमिक नै पाउन सकेका छैनन् । यसै कारण उनी फिल्मको प्रचार(प्रसारमा पनि नहिँडेको बताइन्छ ।
amir khan

आमिरको फेसबुक स्टाटसमा ‘चपली हाइट ३’ का दुई अभिनेत्री स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले घुमाउरो रुपमा आफूहरुले पनि पारिश्रमिक नपाएको बताएका छन् । लक्ष्मीले अमिरको स्टाटसमा कमेन्ट गर्दै लेखेकी छन्, ‘लक्की चार्मको त यो हालत छ झन् हाम्रो के होला रु’ उनको यो कमेन्टमा स्वस्तिमाले ठट्यौली शैलीमा लेखेकी छन्, ‘लक्की चार्म भिजेपछि चार्म हरायो जस्तो छ ।’

स्वस्तिमा र लक्ष्मीले अमिरलाई ‘लक्की चार्म’ भन्नुको कारण अर्जुन कुमारले बनाउने प्रायः फिल्ममा उनी टुट्दैनन् । उनीहरुबीच सहकार्य भएका फिल्म सफल पनि छन् । यही कारण अर्जुनले अमिरलाई आफ्नो ‘लक्की चार्म’ मान्ने गर्छन् । लक्ष्मीको कुरा सुन्दा उनले पनि ‘चपली हाइट ३’ बाट पैसा नपाएको स्पष्ट हुन्छ । यस विषयमा बुझ्न खोज्दा अर्जुन कुमारसँग भने सम्पर्क हुन सकेन । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*