रमितले एसिड पीडित मुस्कान खातुनको बायोपिक बनाउने

जनपत्र
८ पुष २०७८, बिहीबार ०७:४४

एक समयका चल्तीका नायक रमित ढुंगाना विगत लामो समयदेखि अभिनयमा सक्रिय छैनन् । पछिल्लो पटक आफैंले निर्माणमा गरेको फिल्म ‘बुद्ध बर्न इन नेपाल’ मा अभिनय गरेका उनी फेरि एक पटक फिल्म निर्माण गर्न कस्सिएका छन् । उनले एसिड आक्रमणमा परेकी विरगञ्जकी मुस्कान खातुनको जीवनमाथि फिल्म बनाउन लागेका हुन् । फिल्मको नाम ‘मुस्कान’ राखिएको छ ।
चलचित्र पत्रकार सघं दाङ शाखाले मंगलवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा फिल्मको बारेमा जानकारी दिँदै रमितले अबको एक महिनामा छायांकन सुरु हुने बताए । फिल्ममा एसिड आक्रमण पछिको अभिनय मुस्कान आफैँले गर्ने उनले जानकारी दिए । पर्दामा मुस्कानकी आमाको भूमिकाको अफर रमितले अभिनेत्री सञ्चिता लुईँटेललाई गरेको स्रोतले बताएको छ ।
दाङमा पत्रकारसँग साक्षात्कार कार्यक्रममा उनले आफू फिल्म क्षेत्रबाट टाढा नभएको पनि बताए । उनले भने, ‘म फिल्म क्षेत्रबाट टाढा गएको छैन, मेरो कर्म थलो नै यही हो । फिल्म क्षेत्र छाडेर जान सक्दिनँ ।’ विभिन्न कालखण्डमा फिल्म क्षेत्रमा उतारचढाव आएको दृष्टान्त सुनाउँदै रमितले कोरोना महामारी कारण समस्यामा परेको फिल्म क्षेत्रले विस्तारै फड्को मार्ने विश्वास व्यक्त गरे ।
‘कोरोना महामारीले गर्दा विश्व बजारमै फिल्मको बजार कमजोर बनेको छ । तर, विस्तारै(विस्तारै नेपाली फिल्मले फड्को मार्नेछ । पछिल्लो समय प्राविधिक रुपमा नेपाली फिल्म निकै राम्रो बन्न थालेका छन् । कलाकारहरु पनि उत्कृष्ट हुनुहुन्छ । कन्टेन्टमा पनि धेरै सुधार भएको छ । त्यसैले अब नेपाली फिल्मको एकदमै राम्रो दिन आउँछ भन्नेमा म आशावादी छु,’ अभिनेता ढुंगानाले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*